खिजीदेम्बा गाउँपालिका र ग्रिन भेन्चर्सबीचको विवाद के हो ?

काठमाडौँ । अहिले ओखलढुंगा र रामेछाप जिल्लाको लिखु किनारका बासिन्दाबीच ग्रिन भेन्चर्स लिमिटेड चर्चाको केन्द्रमा छ ।

ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिकामा सञ्चालित  लिखु–४ जलविद्युत् आयोजनाले साढे २ करोड रुपैयाँ संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) तथा वातावरणीय प्रभाव न्यूनीकरणका लागि खर्च गरेको विवरण सार्वजनिक भएपछि यसको चर्चा चुलिएको हो । लिखु–४ जलविद्युत आयोजना ग्रिन भेन्चर्स लिले निर्माण गरेको ५२.४ मेगावाट क्षमताको जलविद्युत आयोजना हो ।

आयोजनाले सिएसआरमा २ करोड ४० लाख ६३ हजार रुपैयाँ खर्च गरेको दाबी गरेको छ ।

आयोजनाले खर्च गरेको भनेर दाबी गरेको रकम धेरै भएपछि खिजीदेम्बा गाउँपालिकाका स्थानीयले सो खर्चको विवरण सार्वजनिक गर्न गाउँपालिकालाई आग्रह गरेका थिए । स्थानीयको दबाब बढेपछि गाउँपालिकाले आयोजनालाई पत्र लेखेर खर्चको सम्पूर्ण र विस्तृत विवरण उपलब्ध गराउन भनेको थियो ।

आयोजनाले जेठ १० गते खर्चको विवरण गाउँपालिकालाई उपलब्ध गराएको छ । ग्रिन भेन्चर्स लिका प्रमुख कार्यकारी अधिकृत श्रीधन खनालका अनुसार खिजीदेम्बा गाउँपालिकाको १,२ र ३ नम्बर वडामा गरी २ करोड ४० लाख ६३ हजार रुपैयाँ खर्च भएको छ । यस्तो खर्चमध्ये वडा नं. १ मा ७३ लाख ९८ हजार रुपैयाँ खर्च भएको छ । वडा नं. २ मा ४४ लाख ११ हजार र वडा नं. ३ मा ९४ लाख २१ हजार रुपैयाँ खर्च भएको छ ।

आयोजनाले ३ वटा विद्यालयहरुलाई गरी ९२ हजार ७५० रुपैयाँको ब्लाकबोर्ड उपलब्ध गराएको छ । यस्तै, ग्रामीण विद्युतीकरणमा ४३ लाख, ग्रामीण खानेपानीमा १८ लाख ४४ हजार र विद्यालय खेल मैदान निर्माणमा १३ लाख ८० हजार रुपैयाँ खर्च भएको विवरण सार्वजनिक भएको छ । स्पोर्टस–खेल मैदान शीर्षकमा थप ३० लाख रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरिएको छ ।

हाइस्कुल सपोर्ट कार्यक्रममा ३२ लाख १४ हजार रुपैयाँ, स्थानीय सीप विकासमा १० लाख ७१ हजार र कृषि जडिबुटीमा ८ लाख ५७ हजार रुपैयाँ खर्च भएको विवरण आयोजनाले दिएको छ ।

आयोजनाले सामाजिक उत्तरदायित्व तथा वातावरणीय प्रभाव न्यूनीकरणका नाममा गरेको खर्च विवरण सार्वजनिक गराउन प्रभावित क्षेत्रका स्थानीयले गाउँपालिकासँग माग गरेका थिए ।

कम्पनीले अधिकांश रकम वडा अध्यक्षको सिफारिस तथा उपभोक्ता समितिको मागका आधारमा चेकमार्फत भुक्तानी गरिएको उल्लेख गरेको छ । ग्रामीण विद्युतीकरण, खेलमैदान निर्माण, विद्यालय सहयोग जस्ता शीर्षकमा रकम उपलब्ध गराइएको कम्पनीको भनाइ छ ।

यसैगरी, मन्दिर, घाट तथा अन्य सामुदायिक संरचनाका नाममा विभिन्न व्यक्तिले लाखौँ रुपैयाँ बुझेको विवरणसमेत सार्वजनिक भएको छ । यस्तो विवरण सार्वजनिक भएपछि खर्चको पारदर्शितामाथि स्थानीयले शङ्का व्यक्त गरेका छन् । 

गाउँपालिकाले स्थानीय शेयर, राजस्व, रोजगारी, समन्वय तथा क्षतिपूर्तिसम्बन्धी विषयमा कम्पनीसँग लिखित जवाफ मागेपछि खर्च विवरण सार्वजनिक भएको हो । कम्पनीले विवरण पठाएपछि यसको बारेमा स्थानीयसँग थप छलफल गरेर आवश्यक कदम चाल्ने गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले बताए ।

प्रकाशित मिति: सोमबार, जेठ ११, २०८३  १७:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update