
काठमाडौँ । सिरहाको नवराजपुर गाउँपालिकाले मैथिली भाषाको स्थानीय पाठ्यपुस्तक निर्माण गरी कक्षा १ देखि कक्षा ३ सम्म पठनपाठन गराउन थालेको छ ।
गाउँपालिकाले चालु शैक्षिक सत्रदेखि ‘हमर नवराजपुर’ (हाम्रो नवराजपुर) नामक पाठ्यपुस्तक तयार गरी २० वटै सामुदायिक विद्यायलमा पठनपाठन गराउन सुरु गरेको हो ।
गाउँपालिकाका अध्यक्ष शिव उदगार यादवका अनुसार १०० पूर्णाङ्कसम्मको स्थानीय भाषामा पाठ्यपुस्तक तयार गरेर पढाउन पाइने प्रावधानअनुसार पाठ्यपुस्तक तयार गरी लागू गरिएको हो । आगामी वर्षको शैक्षिक सत्रदेखि कक्षा ६ सम्म स्थानीय भाषाको पाठ्यक्रम तयार गरी कार्यान्वयन गरिने छ ।
आगामी शैक्षिकसत्र २०८३ मा कक्षा ६ मा पनि मातृभाषामा पठनपाठन गराउने योजना अनुरुप पाठ्यपुस्तक छपाइको तयारी भइरहेको उनको भनाइ छ ।
पाठ्यपुस्तकमा नवराजपुर गाउँपालिकाको भूगोल, संस्कृति, परम्परा, जनजीवन, प्रकृतिक सम्पदा, पर्यटन, कृषि, पशुपालन, स्थानीय घरेलु प्रविधिलगायत विषयवस्तु समावेश गरिएको छ ।