Odapalika - The Fourth Estate - चौथो अंग
सुनिताले मानिनन् बालेनको कार्यकक्षमा जान, कसरी फुक्दैन काठमाडौँ महानगरमा बजेटको गाँठो ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट ल्याउने समय नजिकिदै गर्दा काठमाडौँ महानगरपालिकाका मेयर र उपमेयरसहितका वडाध्यक्षहरु विवाद समाधानको खोजीमा जुटेका छन् ।

पछिल्लो समय मेयर बालेन्द्र साह (बालेन) तथा उपमेयर सुनिता डंगोल र वडाध्यक्षहरुबीच विवाद बढेको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर गराउने कि नगराउने भन्ने विषयमा दुई खेमामा बाडिएका मेयर बालेन र उपमेयर डंगोल तथा वडाध्यक्षहरु लामो समयपछि विवाद समाधानमा जुटेका हुन् ।

मेयर बालेन प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर नगराउने पक्षमा थिए भने उपमेयर डंगोलसहित वडाध्यक्षहरुले गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराएर हाजिर गराएका थिए । मेयर बालेनको पक्षमा लागेका महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डे पनि निलम्बनमा परिसकेका छन् ।

विवाद बढ्दै गएपछि उपमेयर डंगोलले सार्वजनिक कार्यक्रमबाटै मेयर बालेनप्रति लक्षित टिप्पणीसमेत गरेको थिइन् । वडाध्यक्षहरु र प्रमुख प्रशासकीय अधिकृत पनि उपमेयर डंगोलको पक्षमा लागेका छन् ।

तर, स्थानीय सरकार संचालनको लागि मेयरको भूमिका अपरिहार्य हुन्छ । मेयरविना महानगरको कामकारवाही अघि बढाउन समस्या सिर्जना भएपछि ३ जना वडाध्यक्षहरुले विवाद समाधानको पहल गरेका हुन् ।

मेयर र उपमेयरबीच नै विवाद भएपछि वडा नं. १७ का वडाध्यक्ष नविन मानन्धर, वडा नं. १५ का वडाध्यक्ष्य ईश्वरमान डंगोल र वडा नं. ३२ का वडाध्यक्ष नवराज पराजुलीले मध्यस्थता गरेका हुन् । मानन्धर नेपाली कांग्रेस, डंगोल एकीकृत समाजवादी र पराजुली नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । मेयर बालेन स्वतन्त्र उम्मेदवार हुन भने उपमेयर डंगोल पनि एमाले उम्मेदवार हुन् ।

तीन जना वडाध्यक्षले मेयर र उपमेयरबीचको विवाद मिलाउने पहल गरेपनि कहिले र कहाँ बस्ने भन्ने समस्या सिर्जना भएको स्रोतले जानकारी दियो । 

‘४/५ दिन अघिदेखि नै बसेर समस्या समाधान गरौं भन्ने पहल भइरहेको थियो । तर, विभिन्न कारणले सम्भव भइरहेको थिएन । यस्तैमा हिजो (जेठ २८ गते) विहान बस्ने तय भयो । फेरि भ्याइएन भनेर दिउसो २ बजेदेखि छलफल भयो । पहिला मेयर उपमेयर र वडाध्यक्षहरु २ घण्टा बसेर छलफल गर्नुभयो । त्यसपछि मेयर र उपमेयर बेग्लै २ घण्टा बसेर छलफल गर्नुभयो,’ स्रोतले वडापालिकासँग भन्यो ।

हिजोको बैठक राष्ट्रिय सभागृहमा भएको थियो । महानगरको कार्यालय पुतली सडकमा रहेको काठमाडौँ प्लाजामा छ । तर, राष्ट्रिय सभागृहमा मेयर उपमेयर दुबैको कार्यकक्ष छ । यद्यपि, सो छलफल भने राष्ट्रिय सभागृहमा रहेको अतिथी कक्षमा भएको थियो ।

‘उपमेयर र वडाध्यक्षहरुले मेयरको कार्यकक्षमा जान चाहनु भएन । मेयरले उहाँहरुको कार्यकक्षमा जान कानुनी रुपमा पनि अप्ठेरो हुने जस्तो देखियो । त्यसैले सबैको चित्त बुझ्ने ठाउँ भनेर अतिथी कक्षमा बैठक बसेको हो,’ स्रोतले भन्यो ।

हिजोको छलफलपछि काठमाडौँ महानगरपालिका आगामी आर्थिक वर्षको बजेट तयारीमा एकजुट भएर जुट्ने भएको छ । बजेट उपमेयर ल्याउनु पर्छ भने बजेटको सिलिङ मेयरले तोक्नुपर्ने कानुनी व्यवस्था छ । काठमाडौँ महानगरका सबै वडाहरुले बजेटको तयारी गरिरहेका छन् । महानगरभित्रका १३ वटा समितिले पनि आगामी आर्थिक वर्षको बजेट निर्माणको कार्य गरिरहेका स्रोतले जानकारी दियो ।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update