अटिजम भएका बालबालिकाका लागि स्कूल निर्माण सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले वडा नं. २९ मा अटिजम भएका बालबालिका, अभिभावक र जनप्रतिनिधिको उपस्थितिमा अटिजम स्कूल भवनको शिलान्यास गरेकी छन् । वडाध्यक्ष कुश ढकाल, जनप्रतिनिधि तथा स्थानीयवासीको सहभागितामा आज आयोजित विशेष समारोहबीच भवन निर्माणका लागि जग पूजा र शिलान्यास गरिएको हो ।

शिलान्यासपछि बोल्दै कार्यवाहक प्रमुख डंगोलले सरकारी तहबाटै अटिजम भएका बालबालिकाका लागि विद्यालय बनाउने महानगरको सपना र अभिभावकको अपेक्षा पूरा हुने चरणमा पुगेको बताइन् । काठमाडौँलाई समतामूलक, समावेशी, करुणा र मानवतामा आधारित सहर बनाउने अभियानअन्तर्गत स्कूल र अनुसन्धान भवन निर्माण गर्न लागिएको उनले स्पष्ट पारिन् ।

‘अटिजम र बौद्धिक अपाङ्गता भएका बालबालिकालाई छुट्याउन खोजिएको हो कि भन्ने पनि लाग्न सक्छ, तर त्यसो होइन,’ उनले भनिन्, ‘सन्तुलित समाजका लागि फरक आवश्यकता भएका बालबालिकालाई समान सामाजिक व्यवहारका लागि योग्य बनाउन विशेष अभियान चलाएका हौँ ।’

सरकार, अभिभावक र पेशाकर्मीको साझेदारीमा कार्यक्रमलाई दिगो बनाइने र भवन निर्माण सम्पन्न नहुँदै सञ्चालन कार्यविधि तर्जुमा गरी प्रणालीमा आधारित कार्यक्रम सुरु गरिने उनले जानकारी दिइन् ।

समारोहमा वडाध्यक्ष कुश ढकालले अटिजम भएका बालबालिकाको पीडा अभिभावकले भोग्नुपर्ने भएकाले उनीहरूको साथका लागि वडामा अटिजम स्कूल बन्नु गौरवको विषय भएको बताए । यस कामले अन्य स्थानीय तहलाई समेत यस्ता विद्यालय निर्माणमा प्रोत्साहन मिल्ने उनले विश्वास व्यक्त गरे ।

वडाको प्रशासनिक भवनको पूर्वतर्फ ४५०.८० वर्गमिटर क्षेत्रफलमा बन्ने यो भवन सार्वजनिक निर्माण विभागले डिजाइन गरेको हो । डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार भवनको लम्बाइ ९२ फिट र चौडाइ पूर्वतर्फ ३५ फिट तथा पश्चिमतर्फ २२ फिट रहनेछ । १७ मिटर उचाइको ५ तले भवनका प्रत्येक तला ३ हजार वर्गफिटका हुनेछन् भने ३ हजार ५ सय वर्गफिटको भूमिगत तलासहित कुल क्षेत्रफल १८ हजार ५ सय वर्गफिटको हुनेछ ।

भवनको भूमिगत तलामा ३० वटा दुईपाङ्ग्रे सवारीसाधन पार्किङ गर्ने सुविधा हुनेछ । जमिन तलामा खेल्ने खुला भाग, भर्याङ, लिफ्ट र मुख्य प्रवेशद्वार रहनेछ । यस्तै, पहिलो, दोस्रो र तेस्रो तलामा तालिम तथा प्रशिक्षण कक्ष, चौथो तलामा प्रशासन तथा अनुसन्धान कक्ष र पाँचौँ तलामा बार्दली निर्माण गरिनेछ । भवनमा ८ जना क्षमताको लिफ्ट रहनेछ भने शौचालय र कोठाहरू अपाङ्गमैत्री र पहुँचयुक्त हुनेछन् ।

भवन निर्माणका लागि १० करोड ९१ लाख ७९ हजार ६०२ रुपैयाँ लागत अनुमान गरिएकामा सार्वजनिक खरिद प्रक्रियामार्फत ९ करोड ७७ लाख ४५ हजार ६२६ रुपैयाँमा सम्झौता भएको छ । निर्माण पक्षलाई २०८३ मंसिर ३ गते कार्यादेश दिइएको र २०८४ चैत मसान्तभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने समयसीमा तोकिएको छ ।

समारोहमा सहभागी अभिभावकहरूले महानगरको कदमप्रति भावुक हुँदै खुसी व्यक्त गरे । अभिभावक सुनिता प्याकुरेलले बल्ल सास फेर्न सजिलो भएको प्रतिक्रिया दिइन् । अर्की अभिभावक मीना ढुङ्गानाले ३२ वर्षीय छोराको निरन्तर हेरचाहमा समय बितेको सम्झँदै अहिलेको जस्तो सुविधा पहिले भइदिएको भए आफूले पनि केही गर्ने अवसर पाउने बताइन् ।

यसैगरी, अभिभावक मिसान वान्तावाले निजी क्षेत्रमा मासिक ४० देखि ४५ हजार रुपैयाँसम्म खर्च धान्न कठिन हुने अवस्थामा महानगरपालिका अभिभावक मात्र नभई जीवनदाता बनेको बताए । अर्का अभिभावक लीलानाथ कँडेलले परिवारका एक सदस्यलाई अटिजम हुँदा जागिर तथा पेसाव्यवसाय चलाउन कठिन हुने समस्या सुनाउँदै अब गरिखान पाइने आशा जागेको धारणा राखे । अभिभावक अजय घिमिरेले सामाजिक समस्यालाई महानगरले महसुस गरेकोमा शब्दमा व्यक्त गर्न नसकिने आभार प्रकट गरे ।

कार्यक्रममा अटिजम केयर नेपालका अध्यक्ष डा. सुनिता मलेखु अमात्यले महानगरको अभिभावकत्व पाउँदा हर्षविभोर भएको बताइन् भने विशेष स्कूल तथा पुनःस्थापना केन्द्रका अध्यक्ष सविता उप्रेतीले सरकार, अभिभावक र बालबालिकालाई एकै थलोमा जोड्ने महानगरको काम प्रशंसनीय रहेको उल्लेख गरिन् । अभावी फाउन्डेसन, फ्रेण्डस् अफ प्यारेन्ट्स अफ चिल्ड्रेन विथ अटिजम, नेपाल अटिजम विद्यालय, असंवादी कल्याण संघ, निर्मल बाल विकास विद्यालय, किवानिज इन्टरनेशनल लगायतका संस्थाका प्रतिनिधिहरूले पनि खुसी व्यक्त गरे ।

वडा सदस्य रेनु श्रेष्ठले वडावासीका लागि गौरवको योजना कार्यान्वयनमा आएको बताइन् भने वडा सचिव शम्भु बरालले भवन निर्माणले लोककल्याणकारी राज्यको गहन सन्देश प्रवाह गरेको धारणा राखे ।

प्रकाशित मिति: बुधबार, मंसिर ९, २०८३  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update