Odapalika - The Fourth Estate - चौथो अंग
ट्रय्याक्टरको विकल्प बन्न थाले हलगोरु, अनुदान दिएर पाल्न प्रोत्साहन

काठमाडौँ । पर्वतको जलजला गाउँपालिकाले स्थानीय जातका गाई र हलगोरु पाल्ने कृषकहरूलाई अनुदान वितरण गरेको छ  । 

चालु आर्थिक वर्षको बजेटको स्थानीय गाई र गोरु संरक्षण कार्यक्रममा छनौट भएका कुषकलाई बधवारबाट अनुदान वितरण गरिरहेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए । 

यसका लागि पालिकाले १३ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।  ३६५ वटा स्थानीय जातका गाई र ५४ हलगोरु पालेका कृषक अनुदानका लागि छनोट भएको गाउँपालिकाका पशु विकास अधिकृत सन्देश गौडेलले जानकारी दिए ।

प्रतिगाई २ हजार र प्रतिहल गोरु ८ हजार रुपैयाँका दरले अनुदान वितरण गरिएको छ  । गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेर तोकिएको मापदण्ड पूरा गरेका कृषकहरूलाई छनोट गरेर रकम वितरण गरिरहेको जनाएको छ । 

स्थानीय जातको गाई संरक्षण, गोरू पाल्ने कृषकलाई प्रोत्साहन गर्दै खेतीपातीलाई बढवा दिन तथा जग्गा बाँझो रहन नदिनको लागि यो कार्यक्रम प्रभावकारी बनेको जलजला गाउँपालिकाका अध्यक्ष आचार्य बताउँछन् । 

व्यावसायिक किसानलाई गाउँपालिकाले नै ‘मिनी टिलर’ बाँडेको भए पनि पहाडी क्षेत्रका भिराला र बाटोको सुविधा नभएका ठाउँमा ‘मिनी टिलर’ लैजान नसक्दा पाखा, छेउछाउ र भिर नजिकका जग्गा बाँझो रहन नदिन हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन गरिएको उनको भनाइ छ । 

आगामी आवको बजेटमा पैंयू गाउँपालिकाले पनि हलगोरु पाल्ने कृषकलाई अनुदान दिनका लागि बजेट विनियोजन गरेको छ । मिनिटेलर प्रयोग गर्ने जनशक्तिको अभाव हुँदै गएपछि गाउँपालिकाहरूले परम्परागत गोरू पाल्ने प्रचलनलाई नै बढाबा दिन थालेका हुन् ।
 

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update