Odapalika - The Fourth Estate - चौथो अंग
राजविराज नगरको कदमः कृषकलाई कृषियन्त्र र बिउबिजन निःशुल्क

काठमाडौँ । सप्तरीको राजविराज नगरपालिकाले किसानलाई कृषियन्त्र र बिउबिजन निःशुल्क उपलव्ध गराएको छ । 

कृषकलाई खेतीपातीमा प्रोत्साहन गरी तिनको आम्दानी वृद्धिसँगै आत्मनिर्भर बनाउने उद्देश्यले निःशुल्क कृषियन्त्र तथा बिउबिजन उपलब्ध गराइएको नगरपालिकाको भनाइ छ । 

नगरपालिकाले मंगलबार खेतीपातीमा प्रयोग गरिने औषधी छर्किने स्प्रे पम्प, पानी तान्ने मोटर बिउबिजनलगायतका कृषि सामग्री निःशुल्क वितरण गरेको कार्यवाहक नगरप्रमुख इसरत परविनले बताइन् । 

उनले किसानलाई वैकल्पिक सिँचाइको व्यवस्था श्रमिक समस्या समाधान, लागत घटाई उत्पादन वृद्धि र किसानलाई प्रविधिमैत्री बनाउने अवधारणा अनुसार यस्तो कार्यक्रम सञ्चालनमा ल्याइएको बताइन् । 

राजबिराज नगरपालिका १० र १६ बाट ४८ जना किसान छनोट गरी तिनलाई तालिम दिनुका साथै कृषिकर्ममा प्रयोग हुने उपकरण र आवश्यक बिउबिजन वितरण गरिएको हो । 

खेतीपातीमै निर्भर रहो दैनिक जीवनयापन गर्दै आएका किसानलाई सिप र बजारीकरणमा सहयोग गर्दै तिनलाई व्यावसायिक बनाउन नगरपालिकाले किसानलाई लघुकर्जा, उद्यमशीलता विकास र आधुनिक कृषि प्रणालीबारे विज्ञमार्फत सातदिने तालिम दिई कृषियन्त्र र बिउबिजन हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update