Odapalika - The Fourth Estate - चौथो अंग
को हुन् हेलम्बु–शेर्पा जाति ?
एआइको सहयोगमा तयार पारिएको तस्वीर ।

बागमती प्रदेशमा करिब एक लाख हाराहारीे जनसंख्या रहेको हेल्मो (हेलम्बु–शेर्पा) जनजातिको वसोवास मूलतः सिन्धुपाल्चोक जिल्लाको हेलम्बु क्षेत्रमा केन्द्रित छ । मेलम्चीको उत्तरी भाग, नुवाकोटको उत्तरपूर्वी भाग र रसुवा जिल्लाको दक्षिणपूर्वी भागमा पनि उनीहरूको वसोवास छ । हेल्मो शेर्पाहरू आफुलाई खुम्बु क्षेत्रका विश्वप्रसिद्ध हिमाल आरोही शेर्पाहरू भन्दा फरक मान्छन् ।

हेलम्बु र मेलम्ची क्षेत्र प्राचीन कालमा शैव–क्षेत्रको रूपमा प्रसिद्ध थियो भन्ने तथ्य नजिकै रहेको इन्द्रावती गाविसको तिलेश्वर महादेवको शिवलिङ्गमा कुँदिएको वि.सं. ५२० को अभिलेखले स्पष्ट पार्दछ । त्यसका साथै हिमवत्खण्ड अनुसार जुगल हिमालबाट निस्कने मेलम्ची नदीलाई माता पार्वतीले प्रादुर्भाव गराउनु भएकोे हो, जहाँ देवताहरूका राजा इन्द्र तथा अनेकौं ऋषिहरूले तपस्या गर्ने गर्दथे । इन्द्रले त्यहाँ इन्द्रेश्वर महादेव स्थापना गरेका थिए ।

हेल्मो किंवदन्ती अनुसार लाङ्टाङ हिमाली क्षेत्र र काठमाडौँ उपत्यकाको बीचमा अवस्थित हेलम्बु क्षेत्रमा गुरु रिम्पोछे (पद्मसंभव)ले आठौं–नवौं शताब्दीमा र सिद्ध मिलारेपाले एघारौ–बाह्रौं शताब्दीमा तपस्या गर्नुभएको थियो । त्यसपछि पन्ध्रौं शताब्दीका तान्त्रिक गुरु सम्भवतः योल्मो टुल्कु सक्या जोङ्पा तिब्वतको साम्ये गुम्बाबाट काठमाडौँ आइरहने क्रममा हेलम्बुमा रात विताउने गर्नुहुन्थ्यो । त्यति बेलादेखि यस क्षेत्रले वज्रयानी निङ्मा सम्प्रदायको शक्ति केन्द्रको रूपमा मान्यता पायो ।

विद्वान् ग्राहम ए. क्लार्कको पुस्तक अ हेलम्बु हिष्ट्रिका अनुसार हेलम्बुमा हेल्मोहरू तीन सय वर्ष अघि तिब्वतको किरोङबाट बसाईं आएका थिए । हेल्मो भाषाले तिब्वतको किरोङ–कागते भाषिकासँग साम्यता राख्छ । हेल्मो भाषामा हेलम्बुको अर्थ आलु (र) मूला (को क्षेत्र) भन्ने अर्थ हुन्छ, “हे”को अर्थ आलु र “लभु”को अर्थ मूला हुन्छ । 

तर सोह्रौं शताब्दीमा स्पेनीहरूले दक्षिण अमेरिकाबाट आलु युरोपको स्पेनमा ल्याएका थिए, त्यसपछि त्यहाँबाट पोर्तुगालीहरूले अठारौं शताब्दीमा भारतको गोवमा ल्याए । वनस्पतिविद् डाल्टन हुकर जोसेफले इ. १७९३ नेपालमा आलु भित्र्याएका थिए र उन्नाइसौं शताद्वीमा मात्रै नेपालमा आलु खेती आम रूपमा सुरु भएको इतिहास छ । राजा रणबहादुर शाहकी रानी राजराजेश्वरीलाई इ.सं १८०६ मा हेलम्बुमा निर्वासित गरिएको कागजात पाइएकोले हेलम्बु क्षेत्र त्यतिबेला नै प्रसिद्ध भएको देखिन्छ । 

हेलम्बुको नामाकरण अठारौं शताब्दीमै भइसकेको देखिएकोले हेलम्बुको सो हेल्मो भाषाको नामाकरण इतिहाससम्मत मान्न सकिन्न । हेलम्बुको नामाकरण नेवार भाषाबाट भएको सम्भावना देखिन्छ । जातीयताको सूचक “हेल्मो” मा स्थान जनाउने शब्द “बु” मिलेर हेलम्बु भएको अनुमान गर्ने आधार पनि देखिन्छ  । त्यसै गरी मेलम्ची शब्द पनि नेवार भाषाबाटै बनेको भन्ने पनि आधार रहेको देखिन्छ, जस अनुसार “मे” भनेको मूल, “लँ” भनेको बाटो तथा “चि” भनेको नून भन्ने हुन्छ । ती सबै शब्द जोड्दा मेलम्चीले “नून (व्यापरको) मूलबाटो” भन्ने अर्थ दिन्छ । 

मेलम्ची र हेलम्बु क्षेत्र तिब्वतसँग काठमाडौँ जोड्ने व्यापारिक बाटोमा पर्दछ । त्यस क्षेत्रबाट उपत्यका छिर्ने साँखु विगतमा नून व्यापारको केन्द्र थियो । यसबारे अध्ययन हुने काम बाँकी नै छ ।

अर्का विद्वान् स्टेफेन स्पार्कको इथ्निक डेभलपमेण्ट प्लान अनुसार हेल्मो समुदायलाई दुई भागमा विभाजित गर्न सकिन्छ । पहिलो समुहमा वज्रयानी निङमा सम्प्रदायका बौद्ध हेल्मोहरू पर्दछन् भने दोस्रो समुहमा बोन धर्म मान्ने हेल्मोहरू पर्दछन् । बोन धर्म सर्वात्मबाद मान्ने झाँक्री धर्म हो । यिनीहरू तेन्पो सेन्राव (धर्म संस्थापक), पितृ–कुलदेवता पुज्छन् । यिनीहरूका गुरुलाई बोन्पो भनिन्छ । जसले आयुर्वेदिक उपचार, पितृ पुज्ने, मृतात्मा आह्वान गर्ने र पूजापाठ गर्ने कार्य गर्दछन् । यस धर्मको उत्पत्ति कैलाश मानसरोवर क्षेत्रबाट भएको मानिन्छ । 

हेल्मो जनजातिले लोसार (नयाँ वर्ष), नारा (दशैँताका मनाइने चाड), डुक्या छेचु, ह्युल्को छेचु र तोर्वे चाडहरू मनाउँछन् । उनीहरू उधौली र उभौली चाड पनि मनाउँदछन् । यस क्षेत्रको सम्बन्ध बौद्धनाथ मन्दिरसँग पनि जोडिएको छ । हेलम्बुमा यहाँको गुठी जग्गा रहेको पाइएको छ ।

हेलम्बु नेपालको बौद्ध तीर्थस्थल र मनोरम क्षेत्र हुनाले प्रख्यात पर्यटन क्षेत्रमा गनिन्छ । ठुलो संख्यामा विदेशी पर्यटकहरू यस क्षेत्रको भ्रमणको लागि आउने गर्दछन् । आन्तरिक पर्यटकहरू पनि यहाँ प्रसस्त भेटिन्छन् । काठमाडौँबाट ११६ किलोमिटरको सडक यात्राबाट ५–६ घण्टामा यहाँ पुग्न सकिन्छ । यहाँको आतिथ्य सत्कारले सबैको मन जित्छ । हेलम्बुको मीठो स्याउले नेपालमा आप्mनो पहिचान बनाइसकेको छ । नेपाल देशलाई आजको समयसम्म पु¥याउन हेल्मो जनजातिको पनि ठुलो योगदान छ ।
 

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  १२:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update