काठमाडौँ । जिल्ला प्रशासन कार्यालय नवलपरासी (वर्दघाछ सुस्ता पूर्व) ले नागरिकता, राहदानी र अन्य प्रशासनिक कार्य ११ दिन रोकेको छ ।
कार्यालयले फागुन १४ गतेदेखि फागुन २४ गतेसम्म जिल्ला प्रशासन कार्यालयबाट जारी हुने सेवा रोकेको हो । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्मचारीहरु खटिनु पर्ने भएकोले सेवा प्रभावित भएर रोकिएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले जानकारी दिए ।
कार्यालयले सार्वजनिक सुचना नै प्रकाशित गरी सेवा स्थगित भएको जानकारी दिएको छ ।
‘निर्वाचन सम्बन्धी तालिमका लागि यस कार्यालयका कर्मचारीहरु समेत खटिएको हुनाले मिति २०८२/११/१४,१५,१७ र १८ गते यस कार्यालयबाट नागरिकता, राहदानी र अन्य प्रशासनिक सेवाको टोकन वितरण स्थगित गरिएको साथै १९ गते होली पर्व र नेपाल सरकार (मन्त्रिपरिषद) को निर्णय अनुसार २०,२१ र २२ गते सार्वजनिक विदा भएकोले मिति २०८२/११/२५ गतेबाट मात्र कार्यालयबाट प्रवाह हुने उपरोक्त अनुसारको सेवा संचालन हुने व्यहोरा सरोकारवाला सबैमा सूचित गरिन्छ,’ सुचनामा उल्लेख छ ।







