Odapalika - The Fourth Estate - चौथो अंग
भीरकोट नगरपालिकाको अनुकरणीय काम, आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती सुरु

स्याङ्जा । स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकाले आँधीखोला किनार क्षेत्रमा परीक्षणका रुपमा तर्बुजाखेती सुरु गरेको छ ।

व्यवसायिक तर्बुजा खेतीको लागि सम्भाव्यता अध्ययन गर्न आँधीकोला किनार क्षेत्रमा खेती सुरु गरिएको हो ।

नगरपालिकाका मेयर गोविन्द कर्माचार्यका अनुसार हेफर इन्टरनेशनलसँगको सहकार्यमा भीरकोट कृषि तथा पशु विकास परियोजनामार्फत तर्बुजा खेतीको सम्भाव्यता अध्ययन गरी व्यावसायिक तर्बुजाखेती गर्ने लक्ष्य लिएको छ ।

सो क्षेत्रको हावापानी, माटो तर्बुजा खेतीका लागि उपयुक्त हुने देखिएकाले व्यावसायिकरुपमा अगाडि बढाउन पहिलो चरणमा बीउ, बेर्ना, उपकरण तथा प्राविधिक सहयोग गरिएको मेयर कर्माचार्यले जानकारी दिए ।

‘सम्भवतः जिल्लामै पहिलो पटक तर्बुजाखेती सुरु गरिएको छ । पहिलो चरणमा यहाँका किसानले परीक्षणका रुपमा लगाएका छन् ।  यो राम्रो हुनासाथ ठूलो परिमाणमा व्यावसायिक उत्पादनमा जोड दिन्छौँ,’ उनले भने ।

सो क्षेत्रमा उत्पादित तर्बुजा किसान आफैँले बिक्री गर्नसक्ने र यदि नसकेमा नगरपालिकाले जिम्मा लिने मेयर कर्माचार्यले बताए । भीरकोट नगरपालिका–१ को आँधीखोला नदी किनारको भीरकोट खेलमैदान परिसर, वडा नं ४, वडा नं ५ को पकान तथा वडा नं ६ को एकुवार फाँटको २० रोपनी क्षेत्रफलमा पहिलो पटक तर्बुजाखेती सुरु गरिएको हो । यसपटक १८ किसानले तर्बुजा रोपेका छन् ।

यहाँ रोपिएको तर्बुजा आगामी जेठ मसान्तसम्ममा उत्पादन लिन सकिने परियोजनाका कृषि प्राविधिक अनिश अर्यालले जानकारी दिए । जिल्लामै पहिलो, नयाँ र नमूनाखेती भएकाले यहाँका किसान यसखेती प्रविधि बुझेर व्यावसायिक उत्पादनमा लाग्न सक्ने कृषि प्राविधिक अर्यालको भनाइ छ ।

लक्ष्मी र सरस्वती दुई जातका तर्बुजा नमुना परियोजनाका रुपमा रोपिएका छन् । नगरपालिकाले तर्बुजाका साथै सिम्ला मिर्च, अकबरे खुर्सानीसहित बेमौसमी तरकारी उत्पादनमा जोड दिएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update