Odapalika - The Fourth Estate - चौथो अंग
बुढानिलकण्ठ नगरपालिकाको गज्जव कामः नगर नलेज बैंकमार्फत जोडिदैछन् सबै विज्ञ र विद्वान

काठमाडौं । काठमाडौँ जिल्लाको बुढानिलकण्ठ नगरपालिकाले आफ्नो पालिकाभित्रका विज्ञ र विद्वान समेट्न अनुकरणीय कार्यक्रम संचालन गरेको छ । नगरपालिकाले नगर नलेज बैंक कार्यक्रम मार्फत विज्ञ र विद्वान समेट्ने कार्यक्रम अघि सारेको हो ।

पालिकाभित्रका सबै प्रकारका मानिसलाई समेट्न नगर नलेज बैंक कार्यक्रम संचालन गरिएको नगरपालिकाका सुचना अधिकारी केदार कुमार खड्काले जानकारी दिए ।

‘हाम्रो पालिकामा वरिष्ठ, विज्ञ, पेशाविद् तथा अनुभवी व्यक्तित्वहरु पनि हुनुहुन्छ । उहाँहरुसँग भएको ज्ञान, सीप र अनुभवको समुचित उपयोग गर्नुपर्छ भन्ने नगरपालिकाको नीति र योजना छ । नगरपालिकाले नीति, योजना र कार्यक्रम तर्जुमा गरी नलेज बैक स्थापना गरेको हो,’ सुचना अधिकारी खड्काले वडापालिकासँग भने ।

नगरपालिकाको चालु आर्थिक वर्षको बाषिृक स्वीकृत कार्यक्रम अनुसार नगर नलेज बैंकका लागि आवश्यक तथ्यांक तथा विवरण संकलन गर्ने कार्य भइरहेको छ । नगरपालिकाले यसका लागि सार्वजनिक सुचना प्रकाशित गरी सम्बन्धित क्षेत्रका विज्ञको रोष्टर तयार पनि पारेको छ । नगरपालिकाभित्रका विज्ञ र पेशाविदले आवश्यक सहयोग पनि गरेको खड्काले बताए ।

नगरपालिकाले यस सम्बन्धमा आवश्यक कार्यविधि बनाउन लागेको छ । विज्ञ र पेशाविदबाट आएको सुझावका आधारमा इकुभेसन सेन्टर बनाएर सिर्जनात्मक कार्य गर्ने योजना नगरपालिकाको छ । 

‘हाम्रो नगरपालिकाभित्र विद्वान, वरिष्ठ र विज्ञ व्यक्तित्वहरु पनि बस्नुहुन्छ । उहाँहरुलाई पनि समेट्न नगर नलेज बैंकको अवधारणा ल्याइएको हो,’ सुचना अधिकारी खड्काले भने ।

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  १२:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update