काठमाडौँ । सुदुरपश्चिम प्रदेश अन्तरगतका सबै स्थानीय तहका नागरिकले जलनको निःशुल्क उपचार पाएका छन् । सबै स्थानीय तहका स्वास्थ्य विभागमा समन्वय गरी सेती प्रादेशिक अस्पतालमा निःशुल्क उपचार गरिएको हो ।
सो अस्पतालमा ३ दिनसम्म शिविर नै राखेर जलन सम्बन्धी सबै प्रकारको उपचार गरिएको छ । नविल बैंक, सेती प्रादेशिक अस्पताल र सुस्मा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा यस्तो उपचार गरिएको हो ।
उपचारको प्रबन्ध भने नविल बैंकले मिलाएको हो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायितव (सिएसआर) अन्तरगत सुदुरपश्चिम प्रदेश अन्तरगतका सबै स्थानीय तहसँग समन्वय गरी जलनको निःशुल्क उपचारको व्यवस्था मिलाएको बैंकको सिएसआर प्रमुख प्रेमुका राईले जानकारी दिइन् । उपचारको लागि लाग्ने खर्च बैंकले व्यहोरेको हो ।
तीन दिने निःशुल्क उपचार शिविरमा ६५ जनाको उपचार भएको छ । यी विरामीमध्ये पुरुष ३५ जना र महिला ३० जना छन् । जलन पिडित यी ६५ जनामध्ये २० जनाको अपरेसन नै गरिएको अस्पतालले जानकारी दिएको छ । अपरेसन गरिएकामध्ये पुरुष ८ जना र महिला १२ जना छन् ।
उपचारको लागि आएकामध्ये १८ जनाको उपचार सेती प्रादेशिक अस्पतालमा सम्भव नभएपछि काठमाडौँ रिफर गरिएको छ । काठमाडौँ रिफर गरिएकामा ९ जना पुरुष र ९ जना महिला छन् ।
‘आगो वा तातोपानीले पोलेका, छाला खुम्चिएका लगायत जलनसँग सम्बन्धित समस्या भएका सबैको निःशुल्क उपचार गरिएको छ । लामो समयदेखि उपचार नपाएका पिडितको पनि उपचार भएको छ । सेती प्रादेशिक अस्पतालमा हुनेजति सबै उपचार त्यही गरेका छौं । त्यहाँ उपचार हुन नसकी काठमाडौँ ल्याउनु पर्ने भए काठमाडौँ ल्याएर उपचार गर्ने व्यवस्था मिलाएका छौं,’ नविल बैंकको सिएसआर प्रमुख राईले भनिन् ।
सुदुरपश्चिम प्रदेशमा जलन सम्बन्धी स्तरीय सेवा उपलब्ध नहुँदा जलनबाट पिडित नागरिकले सहज उपचार पाउन सकेका थिएनन् । स्तरीय उपचारको प्रबन्ध बैंकले मिलाएपछि सो प्रदेशका सबै स्थानीय तहले नागरिकलाई उपचार शिविरमा जान सहजीकरण पनि गरेका थिए ।






