Odapalika - The Fourth Estate - चौथो अंग
जीतपुर सिमरा उपमहानगर निर्णयः ५ करोडको सडक कालोपत्रे गर्न स्रोत सुनिश्चित, सार्वजनिक सुनुवाई कहिले ?

काठमाडौँ । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाले ५ करोड रुपैयाँ लागतको सडक कालोपत्रे गर्नका लागि स्रोत सुनिश्चित गरेको छ ।

फागुन १५ गते बसेको नगर कार्यसमितिको ५५औं बैठकले यस्तो निर्णय गरेको हो । उपमहानगरको खैरहादेखि बसडिलवा जाने सडक कालोपत्रे योजनाको कुल लागत पाँच करोडमा नबढ्ने गरि उपमहानगरको तर्फबाट स्रोत सुनिश्चितता गर्ने निर्णय भएको नगर प्रवक्ता भोजबहादुर खत्रीले जानकारी दिए ।

‘खैरहादेखि बसडिलवा जाने सडक कालोपत्रे योजनाको कुल लागत पाँच करोडमा नबढ्ने गरि उपमहानगरको तर्फबाट स्रोत सुनिश्चितता गर्ने निर्णय भएको छ । यो सडक निर्माणको लागि बहुवर्षीय ठेक्काको बोलपत्र आव्हान गर्नको लागि स्वीकृति दिने निर्णय पनि भएको छ,’ नगर प्रवक्ता खत्रीले भने ।

यस्तै, बैडकले जीतपुरसिमरा उपमहानगरपालिकाको व्यवस्थापन परीक्षण प्रतिवेदन प्राप्त भएकोले सो प्रतिवेदनमा उल्लेख भएका कमजोर क्षेत्रका सूचकहरु क्रमशः सुधार गर्न निर्देशन दिने र उक्त व्यबस्थापन परीक्षण प्रतिवेदन, २०८२ अनुमोदन गर्ने निर्णय पनि गरेको छ ।

बैठकले जीतपुरसिमरा उपमहानगरपालिका घोषणा भएको नौ वर्ष पुरा भएर दश वर्षमा प्रवेशको उपलक्ष्यमा स्वीकृत बजेटको सिमामा रहने गरी विविध कार्यक्रम गरी दशौं उपमहानगर स्थापना दिवस मनाउने निर्णय पनि गरेको प्रवक्ता खत्रीले बताए ।

उपमहानगरले आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक समयावधिको सार्वजनिक सुनुवाई कार्यक्रम फागुन ३० गते दिनको २ बजेदेखि नेपाल राष्ट्रिय माध्यामिक विद्यालय सिमराको प्राङ्गणमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update