काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले एकैपटक ४ वडा बोर्डिङ स्कुल बन्द गरिदिएको छ ।
उपमहानगरले आज (जेठ १९ गते) एक सुचना जारी गरी बन्द गरिएका स्कुलहरूमा वडा नं. १ मा रहेको रोज एकेडेमी, वडा नं. २ मा रहेको माउन्ट एभरेष्ट, वडा नं. ७ मा रहेको अम्ब्रेला अंग्रेजी बोर्डिङ र वडा नं. १९ मा रहेको बाबुलाल एकेडेमी रहेका छन् ।
ती स्कुल बन्द गरिएको जानकारी दिदै उपमहानगरले अभिभावकलाई विद्यार्थी भर्ना नगर्न सुचित गरेको छ ।
किन बन्द गरिए ?
उपमहानगरपालिका स्रोतले दिएको जानकारी अनुसार विद्यालय खरिद विक्री गर्ने तर उपमहानगरले दिएका निर्देशन र कानुनी व्यवस्थाको उल्लघन गर्ने गरिएपछि यी ४ वटा विद्यालय बन्द गरिएका हुन् ।
स्रोतका अनुसार वडा नं. १ मा रहेको रोज एकेडेमीका संचालकले अर्काे विद्यालय किनेर २ वटा चलाउन खोजेपछि एउटा विद्यालय बन्द गराइएको हो ।
यस्तै, वडा नं. २ मा रहेको माउन्ट एभरेष्टलाई उपमहानगरले वडा नं. १ मा संचालनको अनुमति दिएको थियो । अनुमति दिएको स्थानमा स्कुल संचालन नगरेको कारण बन्द गरिएको हो । सोही संचालकले वडा नं. २१ मा थप स्कुल संचालन गरी शिक्षामा अतिव्यापारीकरण गरेका कारण बन्द गरिएको उपमहानगरको भनाइ छ ।
वडा नं. ७ मा रहेको अम्ब्रेला एकेडेमीका संचालक पनि सोही स्थानमा अर्काे विद्यालय चलाएको पाएपछि एक ठाउँमा एउटा मात्रै विद्यालय चलाउनु भनेर अम्ब्रेला एकेडेमी बन्द गरिएको हो । वडा नं. १९ मा रहेको बाबुलाल एकेडेमीले पनि एउटै भवनमा दुईटा विद्यालय चलाउन खोजेपछि एउटा बन्द गरिएको हो ।





