अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा बाघको आक्रमणबाट सात बाख्रा मरेका छन् । आठवटा बेपत्ता छन् । शितगंगा–१३, माझिफाँटस्थित हिमालयन बाख्रापालन तथा कृषि फार्मका १५ बाख्रामाथि बाघले आक्रमण गरेको हो ।
“बुधबार बाख्रा चराउन जंगल गएका बेला ३० वटा बाख्रा हराएका थिए । तीमध्ये एउटा घाइते अवस्थामा र १४ वटा सकुशल फार्ममा फर्किएका थिए । अन्य बाख्रा खोजी गर्दा सातवटालाई बाघले आक्रमण गरी मारेको पायौँ । अझै आठ बाख्रा हराइरहेका छन्,” फार्म सञ्चालक घनश्याम अधिकारीले भने ।
बुधबार (भदौ ४)देखि निरन्तर खोजी गरिरहेको उनले बताए । शनिबार (भदौ ७) पनि खोजी गरिएकामा हराइरहेका बाख्रा फेला पार्न नसकिएको उनले सुनाए ।
यतिका दिनसम्म बाख्रा फेला नपर्नुले बाघले खाएको हुन सक्ने अधिकारीले आशंका व्यक्त गरे । उनका अनुसार, मृत बाख्रा करिब एक किलोमिटर दूरीमा पर्ने देउराली–पारे सामुदायिक वन क्षेत्रमा भेटिएका थिए ।
दुई वर्षअगाडि बाख्रापालनका निम्ति १२ लाख रुपैयाँ लगानीमा संरचना बनाइएको अर्का सञ्चालक विष्णु पौडेलले बताए । बाख्रासँगै फार्ममा ब्रोइलर कुखुरा र बंगुर पनि पालिएको उनले जानकारी दिए । उनका अनुसार, फार्ममा हालसम्म ३५ लाख रुपैयाँ लगानी भइसकेको छ ।
बाघले आक्रमण गर्दा ठूलो क्षति पुगेको उनले बताए । गएको जेठमा दुई हजार ५०० ब्रोइलर कुखुरा पालेका मध्ये एकैदिन एक हजार २०० मरेका उनले जानकारी दिए ।
पछिल्लो समय यो क्षेत्रमा बाघको आक्रमण बढ्दै गएको स्थानीय बताउँछन् । बुधबार राति मात्र नजिककै भलासिक्र गाउँको एक खोरका चार बाख्रा जंगली जनावरले मारेको, एउटा बाख्रालाई घाइते बनाएको प्रहरी चौकी सिमलपानीले जनाएको छ ।