Odapalika - The Fourth Estate - चौथो अंग
अरबसागरबाट जलवाष्पयुक्त हावाको प्रवाह बढ्यो, यी प्रदेशमा आज भारी वर्षा

काठमाडौं । देशभर आज (भदौ १५) साधारणतया बदली रहने पूर्वानुमान छ । यो भनेको ५१ देखि ७५ प्रतिशत आकाश बादलले ढाकेको अवस्था हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल पानी पार्ने प्रणाली मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । साथै, अरबसागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको महाशाखाले जनाएको छ ।

यस दिन दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ‘मध्यम’ वर्षाको सम्भावना छ । बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

“कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ,” महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

आइतबार राति पनि देशभर साधारणतया बदलीको पूर्वानुमान छ । कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । बाँकी पहाडी र तराई भूभागका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ ।

“गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।

काठमाडौंसहित केही स्थानमा बिहानदेखि वर्षा भइरहेको छ । गए राति पनि केही स्थानमा पानी परेको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  ०६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update