
मकवानपुर — हालैको जेनजी आन्दोलनले मुलुकभर त्रास र अव्यवस्था फैलायो। आन्दोलनकारीले प्रहरी कार्यालयदेखि राजनीतिक दलका कार्यालयसम्म आक्रमण गर्दा ठूलो भौतिक क्षति मात्र होइन, सुरक्षाकर्मीहरू समेत घाइते भए। हेटौंडादेखि चितवनसम्मका अधिकांश प्रहरी कार्यालय तोडफोड र आगजनीको चपेटामा परे। तर त्यहीबीच मकवानपुरको मनहरी प्रहरी चौकी भने प्रहरी निरिक्षक विशाल सापकोटाको नेतृत्वमा सकुशल रह्यो।
आन्दोलनको सुरुवात
आन्दोलन विहान सात बजेदेखि बजार बन्द गराउँदै सुरु भएको थियो। सुरुवाती चरणमा सवारी साधन रोक्नेमात्र गतिविधि भए पनि मकवानपुर तथा देशका विभिन्न स्थानमा प्रहरीसँगको विवाद बढ्दै जाँदा स्थिति नियन्त्रणबाहिर गयो।
हेटौंडादेखि चितवनसम्म क्षति
आन्दोलन चर्किएसँगै हेटौंडादेखि चितवनसम्मका प्रहरी चौकीमा आक्रमण भयो। देशका कयाै प्रहरी कार्यालयमा अागजनी गरेर प्रहरी लखेटिए । दर्जनौं चौकीमा तोडफोड र आगजनी भयो। प्रहरी स्रोतका अनुसार धेरै प्रहरी घाइते भए। स्थानीय बासिन्दाले दिनभर धुवाँ र होहल्लाले क्षेत्र त्रसित भएको बताए।
आन्दोलन बढ्दै जाँदा दिउँसो १२ बजेतिर मनहरी क्षेत्र पनि अशान्त बन्यो। आन्दोलनकारीले सडकमा टायर बाल्न थाले, प्रहरीले स्वास्थ्यमा असर पार्ने भन्दै चेतावनी दिइए पनि सुनेनन्। पछि राजनीतिक दलका स्थानीय कार्यालयहरू समेत तोडफोडमा परे। स्थिति भयावह बन्दै गयो।
त्यसैबीच आन्दोलनकारीले मनहरी प्रहरी चौकीमा समेत आक्रमणको प्रयास गरे। तर प्रहरी निरिक्षक विशाल सापकोटाको नेतृत्वमा खटिएका प्रहरीको सतर्कताले चौकी सुरक्षित रह्यो। स्थानिय स्रोतका अनुसार जनशक्ति अभाव र सुरक्षाका साधन पर्याप्त नभए पनि चौकी जोगाउन निरन्तर प्रयास गरिएको थियो।
हेटौंडामा बिहानैदेखि आन्दोलन सुरु भएकाले चौकीका धेरै प्रहरी त्यतै खटिइसकेका थिए। चौकीमा स्रोत साधन समेत सीमित रहेको प्रष्ट महसुस गर्न सकिन्थ्यो। माथिल्लो निकायबाट तुरुन्त थप मद्द्त आउन सम्भ्व पनि थिएन ।
नेतृत्वको भूमिका
प्रहरी कार्यालय सुरक्षित रहनुको कारणबारे स्थानीयले पनि प्रहरी निरिक्षक सापकोटाको संयमित नेतृत्वलाई मुख्य ठानेका छन्। उनी समुदायसँग संवादमा जोड दिने अधिकारीका रूपमा परिचित छन्। आन्दोलन चर्किए पनि बल प्रयोगभन्दा अघि छलफल र समझदारीको बाटो रोजेका कारण चौकी बचाउन सफल भएको स्थानीय अगुवाहरूको भनाइ छ। साथै स्थानिय निकाय र अन्य सुरक्षा निकायसँगकाे समन्वयनले पनी ठुलाे क्षती नभएकाे स्थानिय बताउछन ।
नजिकैका प्रहरी कार्यालयहरूमा आगजनी हुँदा मनहरीस्थित प्रहरी कार्यालय सकुशल रहनुले ठूलो उदाहरण दिएको छ। प्रहरी उच्च स्रोतका अनुसार अन्य चौकीहरूले पनि संवाद र संयमलाई प्राथमिकतामा राखेको भए क्षति घट्न सक्थ्यो।
स्थानीयको अनुभव
मनहरीका एक व्यापारीले भने, “दिउँसो त स्थिति निकै भयावह थियो। हामीले इलाका प्रहरी चौकी पनि जल्छ कि भनेर त्रास लिएका थियौं। तर चौकी सुरक्षित रहँदा केही राहत भयो।”
यस्तै एक विद्यार्थीले भने, “प्रहरीले कठोर भन्दा बढी शान्तिपूर्ण उपाय प्रयोग गरे। त्यसैले प्रहरी कार्यालय नजलेको हो।”
जेनजी आन्दोलनले देशभर गम्भीर क्षति पुर्याए पनि मनहरी प्रहरी चौकी सुरक्षित रहनुले एउटा सन्देश दिएको छ — विपत्तिको बेला संयम, संवाद र दृढ नेतृत्वले ठूलो विनाश रोक्न सक्छ। प्रहरी निरिक्षक विशाल सापकोटाको नेतृत्वलाई यस घटनाले थप मजबुत उदाहरण बनाएको छ।