Odapalika - The Fourth Estate - चौथो अंग
‘ट्राभल एड्भाइजरी’ खुकुलो बनाइदिन दूतावासलाई बोर्डको आग्रह

काठमाडौँ : नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणका लागि जारी गरिएका विभिन्न देशका यात्रा सल्लाह (ट्राभल एड्भाइजरी) खुकुलो बनाइदिन आग्रह गरेको छ।

दशैँको अवसरमा काठमाडौँमा बिहीबार बेलुका आयोजित ‘मिट एन्ड ग्रिट विथ डिप्लोम्याटिक कोर्स’ कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले नेपाल हाल सामान्य अवस्थामा फर्किएको र पर्यटक भ्रमणका लागि पूर्ण सुरक्षित रहेको सन्देश दिए।

यसअघि गत भदौ २४ र २५ गते भएको ‘जेनजी’ आन्दोलनपछि दूतावासहरूले आफ्नो देशका यात्रुलाई नेपाल भ्रमणबारे सचेत रहन भन्दै ‘ट्राभल एड्भाइजरी’ जारी गरेका थिए। विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा १५ भन्दा बढी देशका राजदूत तथा प्रतिनिधि र नेपाल सरकारका उच्चपदस्थ प्रतिनिधि सहभागी थिए।

जेनजी आन्दोलनले सिर्जना गरेको अस्थिरताबाट पर्यटन उद्योगमा देखिएको संकट छिट्टै सामान्य अवस्थामा आइसकेको उल्लेख गर्दै सिइओ जोशीले भने, “राजनीतिक स्थायित्व, सुरक्षा, सहज यातायात, स्वास्थ्य सेवाको पहुँचजस्ता पक्षमा नेपाल पूर्ण रूपमा सामान्य भइसकेको छ।’

सडक, विमानस्थल र यातायात संरचना तत्काल सञ्चालनमा आएका र अस्पताल र स्वास्थ्य सेवा पनि सामान्य अवस्थामा फर्किएको उनले उल्लेख गरे। नेपाल संसारकै अद्वितीय प्राकृतिक र सांस्कृतिक गन्तव्य भएकाले अन्ताराष्ट्रिय समुदायमा सकारात्मक प्रभाव पार्ने गरी भूमिका खेलिदिन सबैलाई आग्रह गरे।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले नेपाल हाल पूर्ण रूपमा भ्रमणयोग्य रहेको सन्देश आफ्ना देशमा पुर्‍याउन दूतावासका प्रतिनिधिहरूलाई आग्रह गरे।

कार्यक्रममा संयुक्त राज्य अमेरिका, भारत, इजिप्ट, नर्वे, कतार, मलेसिया, पाकिस्तानलगायत १५ देशका राजदूत र प्रतिनिधि सहभागी थिए।

प्रकाशित मिति: आइतबार, असोज १२, २०८२  ०७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update