
नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को चोरमारा बजारमा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते छन् ।
शनिबार (कात्तिक १) दिउँसो पश्चिमतर्फ जाँदै गरेको जीजे १४ जेड ६४६५ नम्बरको भारतीय बसले सोही दिशातिर गइरहेको प्रदेश ३–०२–०१० प ७२३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा पछाडि बसेकी ३० वर्षीया अनिता चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अनिताका श्रीमान् मोटरसाइकल चालक सर्लाहीको लालबन्दी नगरपालिका–४ का ३४ वर्षीय नरेश चौधरी र उनका १० वर्षीय छोरा अनुज गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक मधु नेपालले जानकारी दिए ।
मध्यविन्दु जिल्ला अस्पतालमा घाइते दुवैको उपचार भइरहेको छ । भारतीय यात्रुवाहक बस र चालकलाई प्रहरी चौकी तम्सरियाले नियन्त्रणमा लिएको उनले बताए ।