Odapalika - The Fourth Estate - चौथो अंग
रक्षा बमको मागअनुसार मतदाता नामावली दर्ता नभएका व्यक्तिले पनि भोट हाल्न पाउँछन् ?

काठमाडौँ । अहिलेसम्मको घोषित कार्यतालिका र कानुनअनुसार फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुन्छ । सो निर्वाचनको लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने समय कात्तिक ३० गतेसम्म मात्रै हो । मतदाता नामावलीमा नाम नभएको व्यक्तिले फागुन २१ को निर्वाचनमा भोट हाल्न पाउँदैन ।

तर, फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुने अवस्था सिर्जना भएको भदौ २३ र २४ को जेनजी प्रदर्शनका कारण हो । वर्तमान सरकार बनेको पनि सोही प्रदर्शनका कारण हो ।

सो प्रदर्शनको स्वामित्व लिनेमध्येकी एक नेतृ हुन रक्षा बम । उनको संयोजकत्वमा नेपाल जेन–जी फ्रन्ट गठन भएको छ । संयोजक बमले फागुन २१ को निर्वाचनमा भाग लिने मतदाताको लागि सहज वातावरण बनाउन आज एक विज्ञप्ति जारी गरी माग गरेकी छन् ।

उनले अहिलेसम्म कम मात्रै नयाँ मतदाताको नाम दर्ता भएको तथ्यांक सार्वजनिक गर्दै राष्ट्रिय परिचयपत्रका आधारमा मतदान गर्न मिल्ने व्यवस्था मिलाउन भनेकी छन् ।

‘आउँदो चुनावमा नागरिकको मताधिकार सुनिश्चित गर्न राष्ट्रिय परिचयपत्रको तथ्याङ्कका आधारमा निर्वाचन केन्द्रमै बायोमेट्रिक्स रुजु गरेर मतदान गर्ने व्यवस्था मिलाउन नेपाल सरकार र निर्वाचन आयोगसमक्ष जोडदार माग गर्दछौँ । राष्ट्रिय परिचयपत्रमार्फत नागरिकले एकपटक बायोमेट्रिक्स विवरण दिइसकेको अवस्थामा त्यसैका आधारमा मतदान गर्न दिँदा फर्जी मतदानको समस्या नहुने र मतदातालाई समेत सहज हुने भएकाले जनमुखी र समाधानमुखी काम गर्न सम्बद्ध सबैमा अपील गर्दछौँ,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जेनजी नेतृ बमबाट यस्तो माग आएपछि हामीले निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईलाई सम्पर्क गरी राष्ट्रिय परिचयपत्रका आधारमा मतदान गर्न मिल्छ कि मिल्दैन भनेर सोधेका छौं । उनले अहिलेसम्मको कानुनी व्यवस्था अनुसार मतदाता परिचयपत्रमा नाम उल्लेख भएका व्यक्तिले मात्रै मतदान गर्न पाउने बताए ।

‘मतदाता नामावलीमा नाम छ तर मतदाता परिचयपत्र हराएछ वा कुनै कारण क्षति पुगेछ भने बरु नागरिकता, राष्ट्रिय परिचयपत्र वा परिचय खुल्ने अन्य आधिकारिक कागजातका आधारमा मतदान गर्न पाइन्छ । मतदाता नामावलीमा नाम छैन भने अन्य कागजात देखाएर मतदान गर्न पाउने कानुनी व्यवस्था अहिलेसम्म छैन,’ प्रवक्ता भट्टराईले वडापालिकासँग भने ।

मतदाता नामावलीमा नाम समावेश गर्न जिल्ला सदरमुकाम गएर बायोमेट्रिक गर्नुपर्ने वाध्यताको कारण धेरै किशोर तथा युवा मताधिकारबाट बन्चित हुने अवस्था सिर्जना हुन लागेको संयोजक बमको भनाइ छ । 

‘मतदाता नामावलीमा नाम दर्ताका लागि बायोमेट्रिक्स गर्न जिल्ला सदरमुकाम नै पुग्नुपर्ने जटिलताले मतदातामा उत्साह छैन । निर्वाचन आयोगले कात्र्तिक ३० गतेसम्म नयाँ दर्ता गर्न सकिने भनेकोमा दर्ताका लागि अब ९ दिन मात्रै बाँकी रहेको छ । अहिलेसम्म जम्मा १ लाख ३६ हजार नयाँ मतदाताले दर्ता गरेको तथ्याङ्क आएको छ । यस्तो परिस्थितिले समग्रमा जेन–जी विद्रोह र युवाहरूको मर्मलाई समेट्न नसक्ने देखिएको छ । लोकतन्त्रमा सकेसम्म धेरै नागरिकको मताधिकार सुनिश्चित गर्न सके मात्रै प्रणालीको सबलीकरण र सुदृढीकरण हुँदैजान्छ,’ संयोजक बमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यद्यपि, राष्ट्रिय परिचयपत्र बनाउन पनि बायोमेट्रिक अनिवार्य छ । बायोमेट्रिकको लागि काठमाडौँ बाहिरको अधिकांश स्थानमा जिल्ला प्रशासन कार्यालय नै तोकिएको छ । केही स्थानमा भने इलाका प्रशासन कार्यालयमा पनि बायोमेट्रिक हुन्छ । 

हामीले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका सुचना अधिकारी मुकेश कुमार केशरीलाई सम्पर्क गरी राष्ट्रिय परिचयपत्र बनाइसकेका व्यक्तिको तोकिएको निर्वाचन केन्द्रमा गएर बायोमेट्रिक रुजु गर्न प्राविधिक र व्यवहारिक रुपमा कत्तिको सम्भव छ भनेर सोधेका छौं ।

उनले यो विषय प्राविधिक भएपनि अहिले निर्वाचन आयोगसँग छलफल भइरहेको बताए ।

‘यो विषय (राष्ट्रिय परिचयपत्रका आधारमा मतदान गर्न दिने विषय) मा निर्वाचन आयोगसँग छलफल भइरहेको छ । केही निकास निस्कन्छ होला,’ सुचना अधिकारी केशरीले वडापालिकासँग भने ।

नाम दर्ता गराऔंः आयोग

निर्वाचन आयोगका प्रवक्ता भट्टराई आफू बसेकै जिल्लाबाट मतदाता नामावली दर्ता गर्न मिल्ने भएकोले जतिसक्दो छिटो नाम दर्ता गराउन आग्रह गर्छन् ।

‘नाम दर्ता गराउन आफ्नो मतदान केन्द्र वा जिल्ला जानुपर्ने होइन । तपाईं जुन जिल्लामा हुनुहुन्छ, त्यहि जिल्लाबाट नाम दर्ता हुन्छ । तपाईंको मतदाता परिचयपत्र र मतदाता विवरण सम्बन्धित निर्वाचन केन्द्रमा जाने हो । त्यसैले अझै ढिला भएको छैन, जतिसक्दो चाढो नजिकको निर्वाचन कार्यालय गएर मतदाता नामावलीमा नाम दर्ता गराउनु हुन म सबैलाई अनुरोध गर्दछु,’ भट्टराईले भने ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update