काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आफ्नो दोस्रो खेलमा आज सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धामा उत्रिँदा काठमाण्डू गोर्खाज आफ्नो जितको लय कायम राख्ने लक्ष्यमा हुनेछ ।
प्रतियोगितामा काठमाण्डूको यो दोस्रो खेल हो । काठमाण्डूले यसअघि पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले निराश बनाएको थियो ।
यता, सुदूरपश्चिको भने यो पहिलो खेल हो । यसअघि, यी दुई टिमले पहिलो संस्करणमा एकपटक एक–अर्काविरुद्ध प्रतिस्पर्धा गरेको थिए । लिग चरणको उक्त खेलमा सुदूरपश्चिमले काठमाण्डूविरुद्ध ७३ रनको सहज जित निकालेको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ ।
प्रतियोगितामा हालसम्म तीन खेल सम्पन्न भइसक्दा काठमाण्डूसँगै चितवन राइनोज र विराटनगर किंग्सले जित निकालेका छन् ।
यता, साविक विजेता जनकपुरसँगै पोखरा एभेन्जर्स र कर्णाली याक्सले दोस्रो संस्करणको सुरुआत हारबाट गरेका छन् । प्रतियोगितामा लुम्बिनी लायन्सले भने अझै खेल्न बाँकी छ ।





