काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको आसन्न महाधिवेशनमा महामन्त्री पदमा निर्वाचन लड्ने बताएका छन् ।
बिहीबार कांग्रेस बिट रिपोर्टरहरूसँग धुम्बराहीमा कुरा गर्दै उनले आफू महामन्त्री भन्दा तल लड्न नमिल्ने र महामन्त्री भन्दा माथिल्लो पदमा लड्न तयार भइनसकेको बताए।
‘१४ औँ महाधिवेशनमा म महामन्त्री लडे तर, सफल भइन। अहिले म त्योभन्दा तलको पदमा लड्न मिलेन । त्यहाँभन्दा माथि जान मेरो परिस्थिति बनिसकेको छैन,’ उनले भने ।
पौडेलले कुन समुहबाट महामन्त्री लड्ने भन्ने कुरा खुलाएनन् ।
नेता पौडेलले अहिले समय अभाव देखाएर महाधिवेशनको मिति धकेल्ने प्रपन्च भइरहेको पनि बताए । उनले वडा, क्षेत्र र केन्द्रीय महाधिवेशन गर्न सकिने तीन तहको अधिवेशन गरेर १५ औ महाधिवेशन गर्नुपर्ने धारणा राखे।
‘अहिले समय अभाव भनेर लम्ब्याउने प्रपन्च गरियो । यसमा मुख्य नेतृत्वको दोष छ । चुनौति थपिएको बेला यसरी अधिवेशन अन्योलन राख्न हुन्न,’ उनले भने ।
नेता पौडेलले निर्वाचनअघि महाधिवेशन गरेर नेतृत्व परिवर्तन नभए पार्टीको सर्वनाक हार हुने धारणा राखे। यदी नियमित महाधिवेशन नभए विशेष हुने पनि उनले धारणा राखे।
‘विधानमा व्यवस्था भएको माग बमोजिम विशेष महाधिवेशन हुन्छ । तोकिएको समयमा अधिवेशन गर्ने गम्भीरता देखिएन । अहिले विशेष अधिवेशन निष्क्रिय बनाउने र पार्टीको महाधिवेशन निर्वाचन अधि नगरे प्रपञ्च भइरहेको छ। यो गर्नुहुँदैन,’ उनले थपे ।
पौडेलले नियमित अधिवेशन गर्न ढिलाई हुँदा विशेष अधिवेशनको माहोल बनिरहेको बताए।
‘त्यसैले तीन तहको अधिवेशन गरेर निर्वाचन अघि महाधिवेशन सम्पन्न गर्नुपर्छ । नियमित महाधिवेशनले मात्र पार्टीको समस्या समाधान गर्छ,’ उनले भने ।
नेता पौडेलले अधिवेशन नभए देशभरका कांग्रेसीमा निराशा बढ्ने धारणा राखे।
‘सकिन्छ आठै तहको गरौं । नसके आठ तहको अधिवेशन नसक्ने भनेर केन्द्रको रोक्ने काम नगरौं,’ उनले भने।







