काठमाडौं । सरकारले भारतको पश्चिम बंगालमा देखिएको निपाह भाइरस संक्रमण नेपाल भित्रिन नदिन उच्च सतर्कता अपनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले निपाह संक्रमण नेपालमा भित्रिन नदिन उच्च सतर्कता अपनाइएको जानकारी दिए । उनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र भारतसँग सीमा जोडिएका नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिको परीक्षण सुरु गरेको बताए ।
“विशेष गरी कोसी प्रदेशको सीमा नाकामा हामीले सतर्कता अपनाएका छौँ । अरु सीमा नाकामा नेपाल भित्रिने व्यक्तिको स्वास्थ्य परीक्षण गर्न भनेका छौँ”, उनले भने ।
प्रवक्ता बुढाथोकीले निपाह भाइरस सङ्क्रमण लागेका व्यक्तिलाई समयमा उपचार नगेको खण्डमा मृत्यु समेत हुन सक्ने बताए । उनका अनुसार निपाह भाइरस सङ्क्रमणको मृत्युदर ३० देखि ३३ प्रतिशत रहेको छ । निपाह भाइरस सङ्क्रमण सुँगुर, चमेरा र सङ्क्रमित मानिसबाट सर्ने गर्दछ ।







