तनहुँ । तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि कृतिम बौद्धिकता (एआई) सम्बन्धी तालिम सञ्चालन गरिएको छ ।
शिक्षकहरूको क्षमता अभिवृद्धि र विद्यालयको गुणस्तर शिक्षा सुधार गर्ने उद्देश्यले आयोजित तालिममा ९० शिक्षक सहभागी थिए । प्रत्येक समूहमा ३० जनाका दरले ९० जना शिक्षकलाई प्रशिक्षित गराइएको भानु नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले जानकारी दिए ।
‘शिक्षामा एआईको प्रयोगमार्फत विद्यार्थीलाई भविष्यमा चुनौती सामना गर्न सक्षम, सीपयुक्त र आत्मनिर्भर बनाउन शिक्षकका लागि समय सान्दर्भिक, दूरदर्शी र अत्यावश्यक कदमका रूपमा लिइएको छ,’ उनले भने ।
नगरप्रमुख आनन्दराज त्रिपाठीले समयअनुसार शिक्षक स्वयं अद्यावधिक नहुँदा विद्यार्थी र विद्यालय दुवै पछि पर्ने खतरा रहेकाले यस किसिमको तालिमलाई प्राथामिकता दिइएको धारणा राखे ।
‘अबको शिक्षा प्रविधिसँगै अघि बढ्नुपर्छ, शिक्षकहरू परिवर्तनका अगुवा हुनुपर्छ । एआईजस्ता प्रविधि सही ढङ्गले प्रयोग गर्नसके विद्यालय शिक्षा व्यावहारिक, जीवनोपयोगी र प्रतिस्पर्धी बन्ने सक्दछन्,’ नगरप्रमुख त्रिपाठीले भने ।
तालिममा प्रशिक्षकका रूपमा भक्तपुर सानोठिमी क्याम्पसका उपप्राध्यापक विश्वराज जोशी थिए ।
‘आजका विद्यार्थीहरू डिजिटल वातावरणमै हुर्किरहेका, प्रविधिमा चासो राख्ने तथा नवीन सिकाइ विधिप्रति उत्सुक भएकाले परम्परागत शिक्षणशैली मात्र पर्याप्त हुँदैन,’ जोशीले भने ।







