न्यूनतम दररेटमा दाबी गर्न अस्पताललाई बीमा बोर्डको निर्देशन

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था (अस्पताल)लाई न्यूनतम दररेटमा दाबी गर्न निर्देशन दिएको छ। 

बोर्डले दाबीलाई एकरुपता गर्न, वित्तीय सन्तुलन कायम गर्न र अनावश्यक दाबी कम गर्नका लागि स्वास्थ्य संस्थालाई न्यूनतम दररेटमा दाबी गर्न निर्देशन दिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले बताए। बोर्डले सोमबार स्वास्थ्य संस्थालाई परिपत्र गर्दै औषधिलगायतका सेवासुविधा गरेबापत जुन दररेठ न्यून छ, त्यही दररेट मात्र दाबी गर्न भनेको हो। 

‘बीमा बोर्डभन्दा अस्पतालको दररेट न्यून छ भने अस्पतालकै दररेटमा दाबी गर्न निर्देशन दिएका छौँ, मल्लले भने, ‘यदि बोर्डको भन्दा अस्पतालको दररेट बढी छ भने बोर्डकै दररेटमा दाबी गर्न भनिएको छ।’

बोर्डले अस्पताललाई मेडिकल, सर्जिकल प्रकार, सर्जिकल तथा मेडिकल प्याकेज, प्रयोगशाला, फिजियोथेरापी, रेडियोलोजी र शैय्यालगायतकोण् शुल्कमा न्यून दररेट दाबी गर्न निर्देशन दिएको हो। न्यून दररेट दाबीसम्बन्धी व्यवस्था आगामी फागुन १ गतेदेखि  कार्यान्वयन गरिने सूचना अधिकारी मल्लले बताए।

यसअघि बोर्डले सेवाग्राहीलाई अनावश्यक परीक्षण नगराउनसमेत अपिल गरेको थियो।      

प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  ०६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update