काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
मध्यपूर्व क्षेत्रमा विकसित घटनाक्रमले इजरायल, इरान, कतार, कुवेत, यूएई, बहराइनलगायत देशमा बसोबास गरिरहेका नेपालीको सुरक्षाप्रति गम्भीर चिन्ता बढाएको एनआरएनएले बताएको छ ।
मध्यपूर्वका देशमा रहेका १९ लाखभन्दा बढी नेपालीको सुरक्षा मुख्य प्राथमिकतामा राखी आवश्यक कदम चाल्नु जरुरी रहेको एनआरएनएले जनाएको छ ।
इजरायल, इरान तथा मध्यपूर्वका अन्य देशमा रहेका नेपालीलाई सम्बन्धित देशका सरकारी निकाय तथा नेपाली राजदूतावासहरूले जारी गरेका सुरक्षा निर्देशनहरू कडाइका साथ पालना गर्न एनआरएनएको आग्रह छ ।
“अत्यावश्यक बाहेक बाहिर ननिस्कनुहोस् र सुरक्षित स्थानमै बस्नुहोस्,” एनआरएनएले भनेको छ, “अनावश्यक यात्रा नगर्नुहोस् तथा स्थानीय अवस्थाबारे निरन्तर जानकारी राख्नुहोस् ।”
राष्ट्रिय समन्वय परिषद्हरू, गैरआवासीय नेपाली संघको सचिवालय, स्थानीय नेपाली समुदाय, नेपाली राजदूतावास र सम्बन्धित निकायहरूसँग नियमित सम्पर्कमा रहन एनआरएनएले अनुरोध गरेको छ ।
हालको अवस्था सामान्य नभएसम्म इजरायल, इरान तथा मध्यपूर्वका अन्य देशहरूमा यात्रा नगर्न भनेको एनआरएनएले भनेको छ ।
“नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित देशका नेपाली राजदूतावासहरूलाई त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिई, उनीहरूको तत्काल सहायता र सुरक्षित व्यवस्थापनका लागि अविलम्ब प्रभावकारी कदम चाल्न गैरआवासीय नेपाली संघ अनुरोध गर्दछ,” एनआरएनएले भनेको छ, “यसका लागि आवश्यकता अनुसार नेपाल सरकारसँग सहकार्यका लागि समेत तत्पर रहेको जानकारी गराउँदछौँ ।”







