एनआरएनमा सहमति बन्यो, अध्यक्षमा हेमराज सर्वसम्मत

काठमाडौं । लामो समयदेखि चल्दै आएको आन्तरिक खिचातानी र पटक–पटकको विभाजनपछि अन्ततः गैरआवासीय नेपाली संघ (एनआरएनए)मा सहमतिको वातावरण बनेको छ । काठमाडौंमा जारी संघको १२औँ एकता महाधिवेशनबाट डा. हेमराज शर्मा सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका छन् ।

बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा कार्यरत डा. शर्मा अध्यक्ष पदका लागि प्रमुख दाबेदारका रूपमा उभिएका थिए । अध्यक्षका अर्का उमेदवार रोविन शेरचन र रविन बज्राचार्यले अन्तिम समयमा आफ्नो उमेदवारी फिर्ता लिएपछि शर्मा निर्विरोध अध्यक्ष बन्ने बाटो खुलेको हो । जापानका व्यवसायी शेरचन र बेलायतका शर्माबीच मुख्य प्रतिस्पर्धा रहे पनि एकताका लागि अर्कोपटक अध्यक्षमा सबैले सहयोग गर्ने प्रतिबद्धतासँगै शेरचनले उपाध्यक्षमा सहमति जनाएका थिए । 

निर्वाचन समितिले भने औपचारिक घोषणा सोमबार गर्ने जनाएको छ ।

यसअघि संघका सात अध्यक्षमध्ये चारजना प्रतिस्पर्धात्मक निर्वाचनमार्फत चयन भएका थिए भने उपेन्द्र महतो, जीवा लामिछाने र देवमान हिराचन मात्र सर्वसम्मत रूपमा अध्यक्ष बनेका थिए । डा. शर्माको चयनसँगै करिब १३ वर्षपछि पुनः एनआरएनएमा अध्यक्ष पदमा सर्वसम्मत नेतृत्व स्थापित भएको हो ।

महाधिवेशनका क्रममा संघको नयाँ कार्यसमितिका अन्य पदहरूमा पनि सहमति जुटेको बताइएको छ । अध्यक्षसहित कुल ६९ पदमा सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना बनेको छ ।

काठमाडौंमा जारी १२औँ महाधिवेशनको समापन कार्यक्रम भोलि (सोमबार) तय गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले समापन गर्ने कार्यक्रम रहेको छ । 

प्रकाशित मिति: सोमबार, चैत २, २०८२  ०६:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update