युद्ध असरः त्रिभुवन विमानस्थलबाट मध्यपूर्वमा हुने उडानहरु रद्द

काठमाडौं - युद्धले मध्यपूर्वको हवाई क्षेत्र प्रतिबन्धका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्।

विमानस्थल नागरिक उड्डयन कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै चैत ७ गतेका लागि तय गरिएका विभिन्न वायुसेवा कम्पनीका उडानहरू रद्द गरिएको जानकारी दिएको हो।

विमानस्थलका अनुसार आज नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, कतार एयरवेज, फ्लाई दुबई, कुवेत एयरवेज र जजीरा एयरवेजका उडानहरू रद्द भएका छन्। विशेषगरी काठमाडौंबाट दोहा, दुबई, कुवेत र दमाम जाने तथा ती सहरहरूबाट काठमाडौं आउने उडानहरू पूर्ण रूपमा प्रभावित भएका हुन्।

रद्द भएका उडानहरूमा जजीरा र कुवेत एयरवेजका कुवेत-काठमाडौं उडानहरू, फ्लाई दुबईका दुबई-काठमाडौं उडानहरू र कतार एयरवेजका दोहा-काठमाडौं उडानहरू रहेका छन्।

यस्तै, नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सका दोहा, दुबई र दमामका उडानहरू पनि रद्द गरिएको सूचनामा उल्लेख छ। हिमालय एयरलाइन्सले पनि आफ्ना दोहा र दमामका उडानहरू स्थगित गरेको छ। मध्यपूर्वको आकाशमा लगाइएको प्रतिबन्धका कारण उडानहरू ढिलाइ हुने, पुनःतालिका हुने वा रद्द हुने सम्भावना बढेको समेत विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: शनिबार, चैत ७, २०८२  २०:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update