बलात्कार मुद्दामा एमाले नेता कर्ण मल्लविरुद्ध १० वर्ष कैद माग

काठमाडौँ । बलात्कार सम्बन्धी मुद्दामा नेकपा एमालेका नेता कर्णबहादुर मल्लको थुनछेक बहस जिल्ला अदालत ललितपुरमा सुरु भएको छ। प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले सोमबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो। 

अदालतले मंगलबार बयान गराएर थुनछेक बहस सुरु गरे पनि नसकिएपछि बुधबारलाई हेर्दाहेर्दैमा राखिएको छ। बहसपछि मुद्दाको फैसला नहुँदासम्म मल्ललाई थुनामै राख्ने कि थुनाबाहिर राखेर मुद्दा लड्न दिने भन्ने आदेश हुनेछ। मल्ललाई यो मुद्दामा अनुसन्धान गर्न प्रहरीले चैत १४ गते सातदोबाटोबाट पक्राउ गरेको थियो। 

तर मल्ल दोषी हुन् वा होइनन् भन्ने अहिले फैसला हुनेछैन। मल्ल एमालेको कर्णाली प्रदेश कमिटी सदस्य हुन्। 

अभियोगमा मल्ललाई ७ देखि १० वर्षसम्म कैद सजायको माग गरिएको छ। तीन लाख रुपैयाँ जरिवाना र पीडित महिलालाई क्षतिपूर्ति भराइदिन पनि सरकारी वकिलको माग छ। 

मल्लबाट जबर्जस्ती करणीमा परेको भनिएकी ३० वर्षीया महिला कलाकार हुन्। गीति एल्बम निकालेरै आफूले जीविकोपार्जन गर्दै आएको र साथीमार्फत मल्लसँग भेट भएको उनले बताएकी छन्। 

२०८० कात्तिकमा मल्लसँग भेटघाट र चिनजान भएको थियो। २०८० कै फागुन १२ गते एकछिन भेटौँ, खाजा खाएर जानु भन्दै बोलाएर मल्लले होटलमा लगेको पीडितको जाहेरी छ। 

आफूले इन्कार गर्दागर्दै मल्लले फकाइफुलाई विश्वास दिलाएको उनको जिकिर छ। तर ग्वार्कोको एक होटलमा लगेपछि जबर्जस्ती करणी गरेको र आफूलाई श्रीमतीका रुपमा स्वीकार गर्छु समेत भनेको जाहेरीमा उल्लेख छ।

त्यसपछि २ वर्षसम्म निरन्तर यौन सम्पर्क गरेको र त्यसक्रममा गर्भ समेत रहेको उनको भनाइ छ।

‘२०८२ आषाढ २ गते गर्भपतन गर्न लगाए। गर्भपतन गरिसकेपछि मिति २०८२ भदौ २२ गते ग्वार्कोको होटलमा अन्तिम यौन सम्पर्क भई हाल निज प्रतिवादी सम्पर्कविहीन भई बसेको छ र निजले मिति २०८२ जेष्ठ महिनादेखि मलाई मानसिक यातना दिने, जे गर्न सक्छस्, गर् भनेर धम्क्याउने र ज्यान मार्नेसम्मको धम्की दिने गरेको छ,’ जाहेरीमा भनिएको छ।

कर्णबहादुरको बयान : सापटी रकम फिर्ता माग्दा यस्तो आरोप
२०८० सालको साउन महिनामा थानकोटको त्रिभुवन पार्कमा भएको डेउडा गीत संगीतको कार्यक्रममा पीडित महिलासँग चिनजान भएको मल्लले बयानमा खुलाएका छन्। 

त्यसपछि बेलाबेलामा फोनमा कुराकानी गर्ने, फेसबुकमा साथी बनी कुराकानी गर्ने र वाट्सएपमा समेत कुराकानी गर्दै आएको उनको बयान छ। विभिन्न सांगीतिक कार्यक्रममा र पार्टीका कार्यक्रममा समेत सँगै जाने र भेटघाट गर्ने गरेको मल्लले बताएका छन्। 

‘कुराकानी हुँदै जाँदा निजले मेरो गीत–संगीतमा धेरै रुचि छ। एउटा देउडा गीतको एल्बम निकाल्छु। मलाई पैसा सापट दिनु पर्‍यो, म पछि फिर्ता गर्छु भनी जाहेरवालीले २०८१ देखि २०८२ भाद्रसम्म पटक पटक गरी जम्मा एक लाख ३५ हजार रुपैयाँ मेरो ग्लोबल बैंक खाताको चेक मार्फत सापटी रकम लिएकोमा निजले उक्त रकम मलाई फिर्ता नगरेको र मैले रकम फिर्ता माग्दा उल्टै मलाई गालीगलौज गरी मसँग विभिन्न कार्यक्रममा भेट हुँदा खिचेको फोटोहरू सामाजिक सञ्जालमा राखी मेरो बेइज्जत गरीदिन्छु भनी धाकधम्की दिने गर्दै आएकी थिइन्,’ मल्लले बयानमा भनेका छन्। 

आफूसँग खिचेका फोटा फेसबुक, टिकटक र युट्युबमा समेत पोस्ट गरेर बेइज्जत गरेको र फोटो डिलिट गर्नु भन्दा झगडा परेको मल्लको दाबी छ।

त्यसपछि जाहेरवाला महिलासँग सम्बन्ध बिग्रिएको र बोलचाल समेत बन्द भएको उनले बताएका छन्। 

‘सोही कारण निज जाहेरवालीले मलाई रिसइबी राखी मेरो विरुद्धमा जबरजस्ती करणी गरेको भनी जाहेरी दरखास्त दिन्छु भनी धाकधम्की दिने गर्दै आएकी थिइन्। जाहेरी दरखास्तमा उल्लेख गरेजस्तो निज जाहेरवालीलाई मैले ललितपुर ग्वार्कोस्थित गेस्ट हाउसमा कोठामा लगेर जबरजस्ती करणी गरेको छैन,’ मल्लको बयान छ, ‘जाहेरवालीले जाहेरी दरखास्तमा मसँग रिसइबी राखी मलाई फसाउने उदेश्यले मैले निजलाई गेस्टहाउसमा राखी जबरजस्ती करणी गरेको कारण पेटमा गर्भ रहेको र २०८२ असार २ गते मैले निजलाई गर्भपतन गर्न लगाएको भनी झुटा व्यहोराको जाहेरी दरखास्त दिएको तथा मेरो नाममा श्रीमान खोजी पाऊँ भनी जिल्ला प्रहरी परिसर काठमाडौँमा निवेदन दिई सामाजिक सञ्जालमा विभिन्न आईडी बनाई पटकपटक मेरो फोटोहरू पोस्ट गरी मेरो बेइज्जत गर्दै आएकी हुन्।’

यसअघि मल्ललाई यस विषयमा सोधपुछ गर्न पनि प्रहरीले बोलाएको थियो। तर त्यतिबेला उनी उपस्थित भएका थिएनन्। आफू निर्वाचनका लागि मुगुमा व्यस्त भएकाले उपस्थित हुन नसकेको बयान दिएका छन्। 

प्रहरीले बयान गराउँदा पीडितसँगका फोटो, भिडिओ पनि देखाएको थियो। मल्लले ती फोटो, भिडिओ भने आफ्नै भएको स्वीकार गरेका छन्। 

प्रकाशित मिति: बुधबार, वैशाख ९, २०८३  ०६:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update