बेदकोट नगरपालिकाको प्राथमिकतामा पूर्वाधार निर्माण, गत वर्ष कति बन्यो सडक, पुल र खानेपानी ?

 

कञ्चनपुर । पछिल्ला केही वर्षयता बेदकोट नगरपालिकाले पूर्वाधार विकासमा उल्लेखनीय फड्को मारेको छ ।

नगरपालिकाले बस्तीस्तरबाट माग भइआएका योजनालाई प्राथमिकतामा राखेर सडक, पुल, शिक्षा र खानेपानीलगायत संरचना निमार्णमा जोड दिएको नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर पवन विष्टले जानकारी दिए ।

उनका अनुसार गत आर्थिक वर्षमा नगरपालिकाले ११ वटा पुल, ३३ वटा सडक र पाँचवटा खानेपानीका योजना सम्पन्न गरेको छ । यस्तै, २६.५६ किलोमटर सडक निर्माण भएकामा ४.२६ किलोमिटर सडक कालोपत्र भएको छ भने वडास्तरबाट माग भएका योजनालाई प्राथमिकतामा राखेर पूर्वाधार विकासमा जोड दिइएको छ ।

नगरपालिकाले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८०/८१ मा ३६.७२ किलोमिटर सडक निर्माण गरेको छ । आव २०७९/८० मा २९ किलोमिटर सडक निर्माण भएको थियो । ‘समृद्ध बेदकोट’ निर्माण गर्ने दीर्घकालीन लक्ष्यसहित पूर्वाधारलाई विकासको मेरुदण्डका रुपमा अघि सारेको नगरपालिकाले जनाएको छ । 

ग्रामीण भेगसम्म सडक पहुँच विस्तार, कालोपत्र तथा ग्राभेल सडक निर्माण र ढल व्यवस्थापनजस्ता काम तीव्रगतिमा अघि बढाइएको नगरपालिकाले जनाएको छ । ग्रमीण क्षेत्रसम्म सडक विस्तार गरेपछि सहज आवागमन हुँदा स्थानीय उत्पादनको बजार पहुँचमा पनि सुधार भएको स्थानीयवासी खुसी भएका इन्जिनियर विष्टले बताए ।

‘सडक कालोपत्र नभए पनि धेरै सडक ग्राभेलसम्म हुँदा किसानलाई सहज भएको छ । यसअघि सडक नहुँदा हामीले उत्पादन गरेका तरकारी बजारसम्म पुर्याउन बाटोकै कारण देखाएर चर्को भाडा तिर्नुपर्ने बाध्यता थियो । अहिले गाउँमा किसानले उत्पादन गरेका तरकारी, दूध र अन्य खाद्यान्न बिक्री गर्न सहज भएको छ,’ इन्जिनियर विष्टले भने ।

 

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  १५:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update