काठमाडौँ । सुर्खेतको चौकुने गाउँपालिकाले कर्मचारीहरुलाई उपलब्ध गराउँदै आएको सरकारी सवारी साधन फिर्ता गर्न भनेको छ ।
सम्पूर्ण शाखाका शाखा प्रमुख, वडा सचिवहरु लगायत सम्पुर्ण कर्मचारीहरुले आ–आफ्नो जिम्मामा भएका सरकारी सवारी साधनहरु बैशाख २४ गते कार्यालय समयभित्र जिन्सी शाखामा बुझाउन भनिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर विकले जानकारी दिए ।
पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिले इन्धन खर्च धान्न गाह्रो भएपछि सरकारी सवारी साधन फिर्ता गर्न भनिएको उनले बताए ।
गाउँपालिकाले सवारी साधन फिर्ता गर्नको लागि सुचना पनि सार्वजनिक गरेको छ ।
‘वर्तमान परिस्थितिमा मध्पूर्वमा उत्पन्न तनावको कारण पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धिले ईन्धन खर्चमा भएको बढोत्तरी कम गर्न, मर्मत खर्च न्यूनिकरण गर्न, सरकारी सवारी साधनको दुरुपयोग नियन्त्रण गर्न, स्रोत साधनको न्यायपूर्ण विनियोजन गर्न आवश्यक देखिएकोले सम्पूर्ण शाखाका शाखा प्रमुख, वडा सचिवहरु लगायत सम्पुर्ण कर्मचारीहरुले आ(आफ्नो जिम्मामा भएका सरकारी सवारी साधनहरु मिति २०८३।०१।२४ गते कार्यालय समयभित्र जिन्सी शाखामा वुझाउन हुन सबैमा जानकारी गराईन्छ,’ सुचनामा भनिएको छ ।





