मेचीनगर नगरपालिकाको कक्षाकोठामा दुर्व्यसन रोकथाम गर्ने अभियान सुरु

 

झापा । मेचीनगर नगरपालिकाले लागुऔषध दुर्व्यसन रोकथामका लागि माध्यमिक तहका कक्षाकोठामा पुगेर सचेतना फैलाउने अभियान सुरु गरेको छ ।

मेचीनगर–८ इँटाभट्टास्थित आदर्श माध्यमिक विद्यालयबाट प्रारम्भ गरिएको अभियान नगरका १७ वटा माध्यमिक विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीमाझ पुर्‍याइने नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए ।

लागुऔषधको दुर्व्यसनबाट विद्यार्थीलाई जोगाउने उद्देश्य लिइएको अभियान आगामी जेठ १८ गतेसम्म सञ्चालन हुने जनाउँदै उनले त्यसबाट हजारौँ विद्यार्थी लाभान्वित हुने अपेक्षा गरिएको बताए ।

अभियानका क्रममा विज्ञ प्रशिक्षकले कक्षाकोठामै पुगेर लागुऔषधको दुव्र्यसनका नराम्रा असरका साथै यसले व्यक्ति, परिवार र समाजमा पुर्‍याउने क्षतिको विषयमा सचेतनामूलक जानकारी गराइने अभियानको सहजीकरण गरिरहेको सामुदायिक विकास मञ्चका सहजकर्ता गोविन्द न्यौपानेले बताए ।

उनले पानीट्याङ्की, नक्सलबारीलगायत सीमावर्ती बजारमा सहजै उपलब्ध हुने ब्राउन सुगरसहित विभिन्न प्रकारका नशालु पदार्थ खुला सीमा हुँदै भित्रिने भएकाले कलिलो उमेरका विद्यार्थी दुव्र्यसनमा फस्ने सम्भावन बढिरहेकाले सचेता फैलाउन थालिएको जानकारी दिए । अभियानका क्रममा हरेक विद्यालयमा विद्यार्थीलाई ‘इको क्लब’मा सङ्गठित गरिने छ ।

प्रहरीको पछिल्लो तथ्याङ्कले मेचीनगर मुलुककै लागुऔषधको समस्याबाट प्रभावित मुख्य नगर हो । खैरो हेरोइन (ब्राउन सुगर) को कारोबार यस क्षेत्रको मुख्य समस्याका रूपमा देखिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक निशेष चापागाईंले बताए । विद्यालय समयमा लागुऔषधले लट्ठिएको अवस्थामा विद्यार्थी भेटिन थालेपछि स्थानीय समुदाय यो समस्या समाधान गर्न पहल थालिएको उनको भनाइ छ । 

मेचीनगर(६ स्थित पूर्वीनाका काँकडभिट्टाको मेची पुल, गैरीगाउँ र बाहुनडाँगी आसपासको सीमा क्षेत्रबाट दिनहुँ युवा लागुऔषधसहित पक्राउ पर्दै आएका छन् । अभियानको सञ्चालन नगरपालिकाको सामाजिक विकास शाखाले गरिरहेको छ भने सहजीकरण सामुदायिक विकास मञ्चले गरेको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक चापागाईंले लागुऔषधको समस्या र कारोबारीको जालो भयाबह रूपमा फैलिएको जनाउँदै भविष्यका कर्णाधार विद्यार्थीलाई यसबाट जोगाउन अभियान प्रभावकारी बन्ने विश्वास व्यक्त गरे । रासस

 

प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३  १५:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update