Odapalika - The Fourth Estate - चौथो अंग
मेचीनगर नगरपालिकामा स्वाइन फ्लु र लम्पी स्किनको संक्रमण 

काठमाडौँ । झापाको मेचीनगर नगरपालिकाका घरपालुवा पशुहरूमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण देखापरेको छ । 

मेचीनगरको वडा नं २, ३, ७, ८, ९ र १४ मा ‘लम्पी स्किन’ र वडा नं ६ को बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’को सङ्क्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए ।

नगरको पशु सेवा शाखाबाट सङ्क्रमण नियन्त्रण र रोकथामका लागि आवश्यक परीक्षण, उपचार र सतर्कताका सात जना प्राविधिक कर्मचारी परिचालन गरेको उनको भनाइ छ ।  

पशु सेवा शाखाका प्राविधिक छत्र राईका अनुसार गाई र बाच्छीहरूमा ‘लम्पी स्किन’को सङ्क्रमण देखिएपछि किसानको गोठमै पुगेर प्राविधिक टोलीले उपचार सुरु गरेको छ । गाईवस्तको जिउभरि घाउ खटिरा र ज्वरो आउने लक्षण रहेको जनाउँदै उनले किसानलाई गोठको सरसफाइका लागि फिनेललगायतका सामग्री वितरण गरिएको बताए ।

‘लम्पी स्किन’ले थप जोखिम नहोस् भन्नाका लागि सङ्क्रमण फेलापरेको गोठको पाँच सय मिटर आसपासका किसानले पालेका डेढ सयभन्दा बढी गाईवस्तुमा पशु प्राविधिक टोलीले ‘रिङ भ्याक्सिन’ लगाउने गरेको छ । यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, झोक्राउने, खाना अरुचि हुने र दूध कम दिने लक्षण हुन्छ ।

मेचीनगर वडा नं ६ स्थित बबिता बङ्गुुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’का कारण ८०  बङ्गुर मरेका छन् । पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणबाट मरेका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फ्लू’ पुष्टि भएको पशु सेवा शाखाका प्रमुख विक्रम गुरुङले बताए ।
 

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update