पोखरा । पोखरा महानगरपालिकाले कृषि कार्यमा प्रयोग हुने ठुला ट्र्याक्टर तथा मिनिटिलर (हाते ट्र्याक्टर) को सेवा शुल्क (भाडादर) निर्धारण गरेको छ।
कृषि मेसिनरीको भाडा दरमा एकरूपता ल्याउन, कृषकहरूलाई सुलभ दरमा सेवा उपलब्ध गराउन र कृषि उत्पादन लागत घटाउने उद्देश्यले महानगरले यो निर्णय गरेको हो।
महानगरपालिका यातायात व्यवस्थापन समिति, कृषि सञ्जाल तथा सम्बद्ध सरोकारवाला निकायहरूको संयुक्त बैठकले जेठ १८ गतेदेखि नै लागू हुने गरी नयाँ भाडादर तोकेको हो।
महानगरको आर्थिक विकास महाशाखाका अनुसार निर्धारित भाडादरहरु मिनिटिलर (हाते ट्र्याक्टर) को भाडा दर आफ्नै लगानीमा खरिद गरेको भएस् प्रति घण्टा एक हजार बीस रुपैयाँ, अनुदान प्राप्त यन्त्रको हकमा प्रति घण्टा नौ सय रुपैयाँ तोकेको छ ।
त्यसैगरी ठुलो ट्र्याक्टरको भाडा दर ३० मिनेटभन्दा बढी सञ्चालन भएमा प्रति घण्टा तीन हजार चार सय रुपैयाँ तोकेको छ ।
३० मिनेटभन्दा कम सञ्चालन भएमा प्रति मिनेट साठी रुपैयाँ तोकेको छ ।
इन्धनको मूल्य अनुसार भाडा समायोजन हुने
बजारमा इन्धनको मूल्यमा हुने घटबढ र फेरबदलका आधारमा उक्त भाडा दरमा नियमानुसार समयसापेक्ष समायोजन गरिने व्यवस्था समेत गरिएको छ।
नियम मिचे तत्काल कारबाही
महानगरपालिकाले तोकेको दरभन्दा बढी शुल्क लिएको वा कृषकहरूलाई मर्का पारेको पाइएमा प्रचलित कानुन, स्थानीय ऐन तथा नियमावली अनुसार सम्बन्धित वडा कार्यालयले तत्काल आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ।
आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियले महानगर क्षेत्रभित्र कार्यरत सम्पूर्ण कृषि समूह, सहकारी, कृषि यन्त्र सञ्चालक तथा सरोकारवालाहरूलाई यो निर्धारित दररेट पूर्ण रूपमा पालना गरी सहयोग पुर्याउन आह्वान गरेकाे छन् ।





