काठमाडौँ । नवलपरासी (वर्दघाट सुस्ता पूर्व) को बौदीकाली गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ल्याइने निित तथा कार्यक्रम र बजेटका लागि राय सुझाव माग गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरीले दिएको जानकारी अनुसार नीति तथा कार्यक्रम र बजेटमा सर्वसाधारणको पनि सहभागिता रहोस भन्नका लागि राय सुझाव माग गरिएको हो ।
गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेटका लागि राय सुझाव माग गरेको हो ।
‘नेपालको संविधानद्वारा स्थानीय तहलाई प्रदत्त अधिकार, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, संघीय र प्रादेशिक कानुनहरू, दिगो विकासका लक्ष्य, स्थानीय तहको बजेट तर्जुमा दिग्दर्शन लगायतका मार्गनिर्देशनका रूपमा लिई गाउँपालिकाको आवश्यकता, स्रोत साधनको उपलब्धता र संस्थागत क्षमताका आधारमा आ.व. २०८३/०८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तयार गर्नुपर्ने भएकाले उक्त प्रयोजनार्थ जेठ महिना भित्र आगामी नीति तथा कार्यक्रम र बजेटमा समेटिन पर्ने विषयवस्तुहरूको बारेमा रचनात्मक राय/सुझाव प्रदान गर्नुहुन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, पेशा व्यवसायी, शिक्षक, कर्मचारी, सरकारी तथा गैर–सरकारी संघ–संस्था, पत्रकार एवं स्वदेश तथा विदेशमा रहनुहुने गाउँपालिकावासी आमा बुवा, दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण सरोकारवालामा सबैमा हार्दिक अनुरोध गर्दछौं,’ गाउँपालिकाले भनेको छ ।
उपरोक्त राय सुझाव गाउँपालिकाको इमेल [email protected] मार्फत वा कार्यालयमा भौतिक रुपमा उपस्थित भएर दिन सकिने गाउँपालिकाले जानकारी दिएको छ ।





