म्यागङ गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को भुक्तानी तथा खाता बन्द हुने सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको कार्यालय, देउरालीले आज एक पत्र जारी गर्दै सम्पूर्ण सरोकारवालाहरूलाई असार १५ गतेभित्र भुक्तानी लिइसक्नुपर्ने समयसीमा तोकेको हो।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३०(१) बमोजिम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तिमा सात दिन अगावै भुक्तानी दिई निकासा र खर्चको लेखा अद्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने कानुनी प्रावधान भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव नारायण कापरले जानकारी दिए ।  

असार १० भित्र योजना सम्पन्न गर्नुपर्ने

आर्थिक वर्षको अन्त्यमा कामको चाप बढी हुने र स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली डाउन हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै गाउँपालिकाले विशेष सचेतता अपनाएको छ। असार मसान्तभित्रै कर दाखिला, संघीय तथा प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदानहरू फिर्ता गरी प्रतिवेदन बुझाउनुपर्ने र कोष तथा लेखा नियन्त्रक कार्यालयमा आन्तरिक लेखापरीक्षण कार्य सम्पन्न गरी हिसाब मिलान गर्नुपर्ने भएकाले गाउँपालिकाले यस्तो कडा कदम चालेको हो।

सूचनामा गाउँपालिकाबाट सञ्चालित सम्पूर्ण योजना तथा कार्यक्रमहरू मिति २०८३ साल असार १० गतेभित्र पूर्णरूपमा सम्पन्न गरी असार १५ गतेभित्र भुक्तानी लिइसक्न कडा निर्देशन दिइएको छ।

समयमै भुक्तानी नलिए कार्यालय जवाफदेही नहुने :

गाउँपालिकाले तोकिएको अवधिभित्र भुक्तानी नलिई निकासा बन्द भएको खण्डमा कार्यालय कुनै पनि किसिमले जवाफदेही नहुने स्पष्ट पारेको छ।

यो सूचना गाउँपालिकाका सम्पूर्ण विषयगत शाखा, वडा कार्यालयहरू, निर्माण व्यवसायीहरू, उपभोक्ता समितिहरू तथा सम्पूर्ण सरोकारवाला संघ(संस्थाहरूको जानकारीका लागि जारी गरिएको हो। ुसुन्दर, सुखी, सुसंस्कृत र समृद्ध म्यागङु को मूल नारासहित गाउँपालिकाले आर्थिक अनुशासन कायम राख्न यो ताकेता गरेको जनाएको छ।

प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update