सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकाले नगर क्षेत्रका कृषकहरूलाई ठूलो राहत दिँदै कृषि विद्युत मिटर महसुलमा ८० प्रतिशत सम्म अनुदान उपलब्ध गराउने भएको छ। नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै इच्छुक कृषकहरूबाट आवेदन माग गरेको हो।
चालू आर्थिक वर्ष २०८२/८३ को पन्ध्रौं नगरसभाबाट स्वीकृत कृषि विद्युत मिटर महसुल कार्यक्रमु अनुसार कृषकहरूलाई यो सुविधा प्रदान गर्न लागिएको हो।
अधिकतम १० हजार रुपैयाँसम्म सिधै बैंक खातामा आउने
हरिपुर नगरपालिकाको कृषि क्षेत्रमा अनुदान परिचालन कार्यविधि २०८१ु को दफा ४ को उपदफा (ट) बमोजिम कृषकहरूले बुझाएको महसुल बिलको ८० प्रतिशत वा बढीमा दश हजार नबढ्ने गरी अनुदान रकम प्राप्त गर्नेछन् । सो रकम कृषि शाखा मार्फत सोझै कृषकको बैंक खातामा भुक्तानी गरिने नगरपालिकाका प्रशासकीय अधिकृत विनय पौडेलले जानकारी दिए ।
असार ८ गतेभित्र कार्यालयमा बुझाउनुपर्ने
नगरपालिका भरिका कृषि विद्युत मिटर जडान गरी महसुल तिरेका इच्छुक कृषकहरूले सूचना प्रकाशित भएकाे मितिले १५ दिनभित्र आफ्नो आवेदन र आवश्यक रसिद नगरपालिकाको कृषि शाखामा बुझाइसक्नुपर्नेछ।
अनुदान दाबी गर्नका लागि कृषकहरूले रीतपूर्वकको निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, भुक्तानी लिने बैंकको नाम र खाता नम्बर खुल्ने कागजात र कृषि मिटर महसुल तिरेको सक्कल रसिद वा नेपाल विद्युत प्राधिकरणबाट प्रमाणित गरेको स्टेटमेन्ट वा अनलाइन बिल तिरेको कम्प्युटराइज्ड स्टेटमेन्टको प्रिन्ट पेश गर्नुपर्नेछ ।
यो अनुदान चालू आर्थिक वर्षको कृषि विद्युत मिटर महसुलमा मात्र उपलब्ध गराइने छ। विस्तृत जानकारीका लागि हरिपुर नगरपालिकाको कृषि विकास शाखाका सम्पर्क व्यक्ति रामगणेश मण्डललाई ९७४९९४९५०६ मा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।





