काठमाडौं । विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले विजयी सुरुवात गरेको छ । मेक्सिकोले पहिलो खेलमा दक्षिण अफ्रिकामाथि २–० को जित हासिल गरेको हो ।
तीन फरक विश्वकप आयोजना गर्ने पहिलो स्टेडियम बनेको आइकोनिक एज्टेका रंगशालामा मेक्सिकोको जितमा जुलियन क्विनोनेस र राउल जिमेनेजले एक–एक गोल गरे ।
विश्वकपको यो पहिलो खेलमै रेफ्रीले एक मेक्सिकोका र दुई साउथ अफ्रिकाका गरी तीन खेलाडीलाई रातो कार्ड देखाएका थिए ।
खेलको नवौं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । दक्षिण अफ्रिकाका गोलकिपर रोनवेन विलियम्सले दिएको बललाई डिफेन्डरले नियन्त्रण गुमाउँदा मेक्सिकोले त्यसको फाइदा उठाउँदै गोल गर्न सफल भयो । उनैले ४२ मिनेटमा गरेको प्रहार गोलपोस्टमा लागेर फर्किएको थियो ।
मेक्सिकन खेलाडीलाई खराब ट्याकल गरी लडाएपछि खेलको ४९औं मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए ।
त्यसपछि दक्षिण अफ्रिका १० खेलाडीमा सिमित भएको दक्षिण अफ्रिकाविरुद्ध ६७औं मिनेटमा राउल जिमेनेजले गोल गर्दै अग्रता दोब्बर बनाए ।
खेलको ८४औं मिनेटमा दक्षिण अफ्रिकाका थेम्बा ज्वानेले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि ९ खेलाडीमा सिमिति रह्यो ।
दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले रातो कार्ड खाएपछि उद्घाटन खेलमै ३ खेलाडीले रातो कार्ड पाएका हुन् ।
जितसँगै समूह ‘ए’ मा रहेको मेक्सिकोले ३ अंक जोडेको छ । यो जितले मेक्सिकोलाई नकआउट चरणमा पुग्न बाटो केही सहज बन्दा दक्षिण अप्रिका फेरि पनि समूह चरणमा दबाबमा परेको छ ।





