काठमाडौँ । पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसको सादगी नेताको पहिचान बनाएका खरेल पछिल्ला केही वर्षदेखि दम रोगबाट पीडित थिए ।
काठमाडौँको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचार गराइरहेको अवस्थामा गए राति उनको निधन भएको छोरा महेश खरेलले जानकारी दिए । महेश काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाका मेयर छन् ।
सुब्बा देवीप्रसाद र मुकुन्दकुमारी खरेलको माइलो सन्तानको रुपमा विसं २००३ मा काभ्रेको खरेलथोकमा जन्मेका राजेन्द्र विसं २०५६ को आम निर्वाचनमा काभ्रेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । मुलुकको प्रजातान्त्रिक आन्दोलनमा होमिएका नेता खरेल प्रजातन्त्र स्थापनापछि शिक्षा राज्यमन्त्री हुँदै महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीसमेत भएका थिए ।





