भेरी नगरपालिकाको कार्यपालिकाको माइन्युट हरायो, खोजी दिन सिडिओलाई पत्राचार

 

काठमाडौँ । जाजरकोट जिल्लाको भेरी नगरपालिकाबाट कार्यपालिकाको निर्णय पुस्तिका (माइन्युट) हराएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुहरि तिमल्सेनाले जिल्ला प्रशासन कार्यालय (सिडिओ) लाई पत्र लेख्दै सो माइन्युट खोजी गरिदिन अनुरोध गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत तिमल्सेनाले लेखेको पत्रमा वडा नं. २ का वडाध्यक्ष भीमबहादुर कार्कीले सो माइन्युट लिएर उपमेयरको कार्यकक्षमा प्रवेश गरेको सिसिटिभी फुटेजमा देखिएको तर उपमेयरको सचिवालयले माइन्युट नभएको बताएपछि खोजी गरिएको उल्लेख छ ।

‘प्रस्तुत विषयमा आज मिति २०८३।०३।०९ गते यस नगरपालिकाको कार्यपालिका बैठकको क्रममा उपस्थितिमा दस्तखत गरिसकेपछि निर्णय पुस्तिका हराएकोमा ११ः४३ मा वडा नं. २ का वडा अध्यक्ष श्री भिम वहादुर कार्की (सम्पर्क नं.९८६६२२१९५९) ले लिएर उपप्रमुखज्यूको कार्यकक्षमा पुयाएको सिसिटिभी फुटेजमा देखिएको र नगर उपप्रमुखको सचिवालयमा फोन सम्पर्क गर्दा निर्णय पुस्तिमा वारे जानकारी नभएको भन्ने मौखिक जानकारी प्राप्त भएकोले कार्यपालिकाको निर्णय पुस्तिका खोजी कार्यमा आवश्यक सहयोग गरिदिनुहुन अनुरोध गर्दछु,’ प्रमुख जिल्ला अधिकारीलाई प्रमुख प्रशासकीय अधिकृतले लेखेको पत्रमा उल्लेख छ ।

bheri-minute-1782213790.jpg
तर, उपमेयर सीता जैसीले माइन्युट नहराएको र नगर कार्यपालिकामा नै रहेको बताइन् ।

‘माइन्युट कसैका घरमा हुने कुरा भएन, कार्यपालिकामा नै छ । हराएको होइन । माइन्युटमा लेखिएका केही विषय तलमाथि गरिएको पनि छैन । भएको निर्णय लेख्ने हो भने माइन्युट निस्कन्छ,’ उपमेयर जैसीले वडापालिकासँग भनिन् ।

उनले कार्यपालिका बैठकमा बजेट तर्जुमा सम्बन्धमा विवाद भएको र सोही कारण माइन्युटको विषय आएको बताइन् ।

 

प्रकाशित मिति: मंगलबार, असार ९, २०८३  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update