विराटनगर महानगरपालिकाले ल्यायो आगामी आर्थिक वर्षका लागि ३ अर्ब ५६ करोडको बजेट

काठमाडौँ । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेट ल्याएको छ ।

उपमेयर शिल्पा निरला कार्कीले आज नगरसभामा पेश गरेको बजेट चालु आर्थिक वर्षको भन्दा १० करोड रुपैयाँले कम छ । विराटनगर महानगरले चालु आर्थिक वर्षका लागि ३ अर्ब ६८ करोड २८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको थियो ।

महानगरले चालु आर्थिक वर्षको बजेटको प्राथमिकतामा पूर्वाधार विकासलाई राखेको छ । आगामी आर्थिक वर्षमा पूर्वाधार निर्माणमा १ अर्ब ६० करोड ३९ लाख ३२ हजार रुपैयाँ खर्च हुने अनुमान पेश गरिएको छ ।

जसमा वडास्तरीय योजनाका लागि ४३ करोड ५६ लाख र नगरस्तरीय योजनाका लागि ६० करोड रुपैयाँ खर्च गरिनेछ । बहुवर्षीय तथा गौरवका आयोजनाका लागि १५ करोड र पुराना दायित्व भुक्तानीका लागि २५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

महानगरले सामाजिक विकासतर्फ २६ करोड ५० लाख ५९ हजार रुपैयाँ विनियोजन गरेको छ । शिक्षामा १० करोड ९ लाख र स्वास्थ्यमा ७ करोड ३ लाख रुपैयाँ राखिएको छ ।

राजस्वको हिसाव

महानगरले आगामी आर्थिक वर्षमा आन्तरिक स्रोतबाट १ अर्ब २७ करोड २० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ । बाँकी स्रोतका रूपमा सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र राजस्वा बाँडफाडका छन् । चालु आर्थिक वर्षका लागि १ अर्ब २७ करोड २० लाख ८ हजार रुपैयाँको आन्तरिक आयको अनुमान गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, असार १०, २०८३  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update