जन्तेढुंगा गाउँपालिकाको अस्पताल अलपत्र, ठेक्का तोड्ने पालिकाको तयारी, ठेकेदार भन्छः बजेटै पुगेन

 

खोटाङ । ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुङ्गा गाउँपालिका, ५ चिसापानी बजारमा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल भवन अलपत्र परेको छ । 

ठेकेदार कम्पनी ड्रागन–रियर जेभी र गाँउपालिकाबीच विसं २०७८ असार २५ गते ठेक्का सम्झौता भएको थियो ।  कम्पनीले २०७९ असार २८ मा भवन निर्माण सम्पन्न गरी पालिकालाई हस्ताणतरण गरिसक्नुपर्ने व्यहोरा सम्झौतामा उल्लेख छ ।  

कूल २० करोड ७१ हजार ५९० रुपैयाँमा निर्माण सम्पन्न हुने अस्पताल भवनको काम ३३ प्रतिशत मात्र सम्पन्न भएको गाउँपालिकाका सूचना अधिकारी विनय निरौलाले जानकारी दिए । तोकिएको समयमा काम सम्पन्न नभएपछि पाँच पटकसम्म म्याद थप गरिएको थियो । हालसम्म कम्पनीले छ करोड ४९ लाख छ हजार रुपैयाँ रकम भुक्तानी बुझिसकेको गाउँपालिकाले जनाएको छ । 

पर्याप्त बजेट र उपयुक्त वातावरण सिर्जना गर्दासमेत ठेकेदार कम्पनीले अस्पताल भवनको काम नगरेको गाउँपालिकाका उपप्रमुख एवं अनुगमन समिति संयोजक खेमबहादुर खड्काले जानकारी दिए ।

‘ठेकेदार कम्पनीलाई  पटकपटक ताकेता गरिरहेका छौँ । पछिल्लोपटक थपिएको म्यादमा काम सम्पन्न भएन । अस्पताल भवन निर्माणका लागि पालिकाबाट उपलब्ध रकम ठेकेदार कम्पनीले भुक्तानी लान सकेन । अब के गर्ने भन्ने विषयमा कार्यपालिका बैठक बसेर निर्णय गर्ने तयारीमा छौँ,’ उनले भने ।

चिसापानी बजारमा आधारभूत अस्पात भवन निर्माणका लागि स्थानीयले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।  

विस्तृत परियोजना रिपोर्ट (डिपीआर) परिवर्तनमा समय लाग्नु, पर्याप्त बजेट नहुनु र फोक्सिङटारमा पुल नहुनुले आधारभूत अस्पताल भवन निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनीका प्रतिनिधि ङ्वाङ डण्डुप लामाले बताए ।

 

प्रकाशित मिति: सोमबार, असार १५, २०८३  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update