काठमाडौँ । स्थानीय तहमा कार्यरत कर्मचारीहरुको संस्था स्थानीय तह कर्मचारी संजाल नेपालले स्थानीय तहका कर्मचारीहरुमाथि पछिल्लो समय भएको आक्रमणप्रति आपत्ति जनाएको छ ।
संघले विज्ञप्ति जारी गरी पछिल्लो समय देशभरका विभिन्न स्थानीय तहमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरूमाथि कार्यालय परिसरभित्र तथा कार्यसम्पादनकै क्रममा भौतिक आक्रमण, अभद्र व्यवहार, धम्की तथा दुर्व्यवहारका शृङ्खलाबद्ध घटनाहरू निरन्तर रूपमा भइरहेको भन्दै सोप्रति स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालको गम्भीर ध्यानाकर्षण भएको हो ।
‘जनताको घरदैलोमै राज्यका सेवा प्रवाहमा निरन्तर खटिएका कर्मचारीहरूमाथि भइरहेका यस्ता गैरकानुनी, अमानवीय तथा अराजक गतिविधिहरूको सञ्जाल घोर भर्त्सना गर्दै कडा निन्दा गर्दछ । यस्ता घटनाले देशभरका स्थानीय तहमा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूमा असुरक्षा, त्रास र निराशाको अवस्था सिर्जना गरेको छ,’ संघका महासचिव दीपक सिंह धामीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राज्यका प्रतिनिधिका रूपमा संविधान र कानुनबमोजिम सार्वजनिक सेवा प्रवाहमा खटिएका कर्मचारीहरूमाथि हुने आक्रमण केवल एक कर्मचारीमाथिको आक्रमण मात्र नभई विधिको शासन, सुशासन, सार्वजनिक प्रशासन तथा राज्यको सेवा प्रणालीमाथिकै सिधा प्रहार भएको संजालको भनाइ छ । संजालले सेवा प्रवाहका क्रममा उत्पन्न हुने कुनै पनि असहमति, गुनासो वा विवादको समाधान कानुनी तथा संस्थागत प्रक्रियाबाट खोजिनुपर्ने भन्दै आक्रमण, हिंसा, दुर्व्यवहार र अराजकता स्वीकार गर्न नसकिने स्पष्ट पारेको छ ।
‘नेपाल सरकार तथा सम्बन्धित सबै सरोकारवाला निकायसमक्ष कर्मचारीमाथि भएका सम्पूर्ण घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम हदैसम्मको कारबाही गर्न, देशभरका स्थानीय तहका कर्मचारीहरूको भौतिक सुरक्षा सुनिश्चित गरी सुरक्षित, सम्मानजनक र भयमुक्त कार्य वातावरण निर्माण गर्न तथा कार्यस्थलम हुने हिंसाविरुद्ध शून्य सहनशीलताको नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न जोडदार माग गर्दछ । साथै, राष्ट्रसेवक कर्मचारीहरूको जीवन, सम्मान र सुरक्षालाई उच्च प्राथमिकतामा राखी यस्ता घटना पुनः दोहोरिन नदिने गरी आवश्यक सुरक्षा व्यवस्था तथा प्रभावकारी कानुनी संयन्त्रको अविलम्ब व्यवस्था गर्न समेत नेपाल सरकार समक्ष जोडदार माग गर्दछ,’ संजालले भनेको छ ।
सम्बन्धित निकायले समयमै आवश्यक पहल नगरेमा तथा कर्मचारीमाथि हुने यस्ता आक्रमण र हिंसात्मक गतिविधि नियन्त्रण गर्न प्रभावकारी कदम नचालिएमा देशभरका स्थानीय तहमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको सुरक्षा, सम्मान र पेशागत मर्यादाको रक्षाका लागि देशव्यापी रूपमा कडा प्रतिवादमा उत्रिन बाध्य हुने व्यहोरा समेत जानकारी संघले गराएको छ ।
असार १८ गते नै चितवनको इच्छामनकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि ठेकेदारहरुको समुहले आक्रमण गरेको समाचार सार्वजनिक भएको थियो ।





