काठमाडौं । सरकारले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको कोशिस गर्दा गम्भीर घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च उपलब्ध गराउने भएको छ ।
हाल वीर अस्पतालमा उपचाररत नेपालीको थप तथा विशिष्टिकृत उपचारका लागि तत्कालै भारतको नयाँ दिल्लीस्थित ‘अखिल भारतीय आयुर्विज्ञान संस्थान’ (आईआईएमएस) लैजाने तयारी गरिएको छ ।
बिरामीको स्वास्थ्य अवस्था बुझ्न र उपचार प्रक्रियालाई तीव्र बनाउन गृहमन्त्री सुधन गुरुङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू बिहीबार वीर अस्पताल पुगेका थिए ।
उनीहरूले अस्पतालका चिकित्सक टोलीसँग घाइतेको पछिल्लो स्वास्थ्य स्थिति र उपचारको प्रगतिका बारेमा प्रत्यक्ष जानकारी लिएका छन् ।
चिकित्सकसँगको परामर्श र अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै उनीहरूले बिरामीलाई तत्काल भारत लैजान आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी चुस्त बनाउन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा घाइते नेपालीलाई थप उपचारका लागि भारत लैजाने प्रक्रिया अघि बढाइएको हो । राइड शेयरिङको काम गर्दै आएका नेपालीको मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक गरेपछि आत्मदाहको कोशिस गरेका थिए ।






