भक्तपुर। सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरेको छ ।
नगरपालिकाको कार्यालय कटुञ्जेमा आयोजित घोषणा कार्यक्रममा नगरप्रमुख वासुदेव थापाले औपचारिक रूपमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना नगर घोषणा गरेका हुन्।
नगरप्रमुख थापाले बालबालिकाको स्वास्थ्य संरक्षण र सुरक्षित भविष्य निर्माणमा नगरपालिका सफल भएको भन्दै नगरपालिका क्षेत्रमा बस्ने पाँच वर्ष मुनीका प्रत्येक बालबालिकाले सतप्रतिशत खोप पाएको बताए।
उनले घोषणालाई दिगोपना दिन थप कार्यक्रम ल्याउने बताउँदै नगरपालिकाले आफ्ना नागरिकलाई शिक्षा तथा स्वास्थ्य सहज र शुलभ पहुँचमा लगानी बृद्धि गरेको बताए।
नगर प्रमुख थापाले भने, 'स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको छ, त्यसकै परिणामस्वरूप पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सम्भव भएको हो, नगरपालिकाले आफ्ना नागरिकलाई सहज र शुलभ स्वास्थ्य उपचार नगर अस्पतालबाट दिँदै आएको छ, स्वास्थ्य, शिक्षा तथा बालमैत्री स्थानीय शासनका क्षेत्रमा नगरपालिकाले सफलता हात पारेको छ ।'
सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं सामाजिक शाखाका संयोजक तथा वडा नं ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले खोप अभियानले जन्मदेखि २३ महिनासम्मका बालबालिकालाई घरघरमै पुगेर खोजी गरेर खोप लगाउन सफल भएको बताए।
सबै खोप प्राप्त गरेका बालबालिकालाई आगामी वर्षमा खोपको निरन्तरता र सुनश्चितता दिन नगरपालिकाले खोप र खोजलाई निरन्तरता दिने बताए।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख अञ्जना खड्काले बालबालिकाको स्वास्थ्य अधिकार सुनिश्चित गर्न एक वर्षदेखि खोप तथा खोज कार्यक्रम सञ्चालन गरी घरदैलोमा पगेर प्रत्येक बालबालिकालाई सबै प्रकारको खोज दिएको बताए।
उनले खोप लगाउन छुटेका आठ जना बालबालिकालाई पूर्ण खोप दिलाउन सफल भएको बताए।
नगरपालिका स्वास्थ्य शाखाका प्रमुख बसन्त चौलागाईले घरधुरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्कअनुसार नगर क्षेत्रमा खोप पाएका १५ महिनासम्मका बालबालिकाको सङ्ख्या एक हजार ७५० रहेको, ड्रपआउट सङ्ख्या एक रहेको र पूर्ण खोप प्राप्त गरेका १६ देखि २३ महिनासम्मका बालबालिकाको सङ्ख्या एक हजार ३२९ रहेको बताए।






