बन्दीपुरमा मिनी ग्रेटवाल बनाउने बन्दीपुर गाउँपालिकाको घोषणा, अरु यस्ता छन् नयाँ कार्यक्रम

तनहुँ । प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा र सांस्कृतिक मौलिकताले परिचित बन्दीपुर गाउँपालिकाले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै विविध कार्यक्रम सार्वजनिक गरेको छ । 

बन्दीपुरलाई ग्रामीण पर्यटनको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित पर्यटन पूर्वाधार, प्रचारप्रसार, सांस्कृतिक संरक्षण तथा नयाँ पर्यटकीय गन्तव्यहरूको विकासमा विशेष जोड दिइएको हो ।

गाउँपालिकाले ‘ग्रामीण पर्यटन भ्रमण वर्ष २०२६’ कार्यक्रम सञ्चालन गर्दै बन्दीपुर बजारसँगै ग्रामीण क्षेत्रका पर्यटकीय गतिविधिलाई विस्तार र स्तरोन्नति गर्ने योजना अघि सारेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए ।

गण्डकी प्रदेशको दोस्रो प्रमुख पर्यटकीय गन्तव्य तथा ‘पहाडकी रानी’का रूपमा परिचित बन्दीपुरका सबै वडामा रहेका पर्यटकीयस्थलको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्दै समग्र गाउँपालिकालाई पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको उनले बताए ।

पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले पर्यटकीय गाउँ तथा होमस्टे (घरबास) हरूको विवरण तयार गरी डिजिटल माध्यमबाट प्रचारप्रसार गर्ने, पर्यटनसम्बन्धी वृत्तचित्र (डकुमेन्ट्री) निर्माण गर्ने तथा घरबासको गुणस्तर अभिवृद्धिका लागि तालिम सञ्चालन गर्ने कार्यक्रम ल्याएको अध्यक्ष थापाले जानकारी दिए । साथै होमस्टे सर्किट विकास गरी पर्यटकलाई गाउँगाउँसम्म पुग्ने वातावरण बनाइने उनले बताए ।

बन्दीपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटकको तथ्याङ्क व्यवस्थापन तथा सूचना प्रवाहलाई व्यवस्थित बनाउन पर्यटन सूचना केन्द्र स्थापना गरिने र पर्यटकलाई सहज बनाउन पर्यटकका लागि नक्सा, सूचना बोर्ड, हिमाल अवलोकनसम्बन्धी विवरण तथा डिजिटल क्यूआर बोर्डको व्यवस्थासमेत गरिने नीति लिइएको थापाको भनाइ छ । 

गाउँपालिकाले पदमार्ग विकासलाई पनि प्राथमिकतामा राखेको छ । मणिमुकुन्दसेन पदमार्ग (मिनी ग्रेट वाल), रानीवन पदमार्ग, छिम्केश्वरी क्षेत्र तथा विभिन्न पदयात्रा मार्गहरूको विकास र प्रवर्द्धन गरिने बताउँदै उनले रानीबन पदमार्गलाई ‘बर्ड वाचिङ ट्रेल’का रूपमा विकास गर्ने योजना बनाइएको जानकारी दिए ।

धार्मिक पर्यटन प्रवर्द्धनका लागि मुकुन्देश्वरी, थानीमाई, खड्कमाई, भुत्याई बराह, सन्तानेश्वर महादेव, मुलपानी महादेव, साम्दी महादेव, तीनधारा महादेव तथा पहाडपानी महादेवलगायत धार्मिकस्थलको संरक्षण तथा प्रचारप्रसार गरिने बताउँदै थापाले बाइसे–चौबिसे राजाका पालाका ऐतिहासिक गढीहरू, हुस्लाङकोट, चन्द्रकोटलगायत सम्पदाको इतिहास अध्ययन गरी संरक्षण अभियान थालिने जानकारी दिए ।

साहसिक पर्यटनको क्षेत्रमा पनि गाउँपालिकाले विशेष योजना अघि सारेको छ । ‘रक क्लाइम्बिङ’, ‘प्याराग्लाइडिङ’, ‘क्यानोइङ’, ‘र्‍याफ्टिङ’ तथा ‘साइकलिङ’ जस्ता गतिविधिको प्रवर्द्धन गर्दै बन्दीपुरलाई साहसिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । 

नेपालकै ठूलो मानिने सिद्धगुफा, पातालद्वार गुफा र शङ्खे गुफाको संरक्षण तथा प्रवर्द्धन गरी त्यहाँ पर्यटकीय गतिविधि विस्तार गरिने बताउँदै थापाले कृषि र पर्यटनलाई एकीकृत गर्दै रैथानेबाली संरक्षण तथा कृषि फार्मलाई ‘फार्म हाउस स्टे’का रूपमा विकास गर्ने नीति अगाडि सारिएको जानकारी दिए ।

‘आफ्नो गाउँ रमाइलो बनाऔँ’ कार्यक्रमअन्तर्गत ग्रामीण सौन्दर्यीकरण, उज्यालो बन्दीपुर अभियान तथा ढुङ्गा छपनी कार्यक्रमलाई निरन्तरता दिइएको अध्यक्ष थापाले उल्लेख गरे । उनका अनुसार रामकोट, धरमपानी र कोरिखालालाई थप सौन्दर्यीकरण गरी कोशेली घर निर्माण तथा सञ्चालनमा प्रोत्साहन गरिने छ । 

पर्यटकको बसाइँ अवधि बढाउन छिमेकी पालिकासँग सहकार्य गरी संयुक्त पर्यटकीय प्याकेज विकास गरिने बताउँदै अध्यक्ष थापाले बन्दीपुर, छिम्केश्वरी, मनकामना मन्दिर, गोरखा दरबार, भानुभक्तको जन्मस्थल तथा तनहुँसुर जोड्ने ट्रेकिङ रुटको सम्भाव्यता अध्ययन गरिने उल्लेख गरे ।

पर्यटन क्षेत्रमा निजी लगानी आकर्षित गर्न लगानीमैत्री नीति तर्जुमा गरिनेछ र बन्दीपुर बजारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआरं तयार गरी स्मार्ट पर्यटकीय सहरका रूपमा विकास गर्ने दीर्घकालीन योजना सार्वजनिक गरिएको अध्यक्ष थापाले जानकारी दिए ।

बन्दीपुरको प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदालाई संरक्षण गर्दै पर्यटनलाई आर्थिक समृद्धिको प्रमुख आधार बनाउने लक्ष्यसहित कार्यक्रमहरू ल्याइएको उनले बताए । अध्यक्ष थापाका अनुसार स्थानीय समुदायको प्रत्यक्ष सहभागिता र लाभ सुनिश्चित गर्दै बन्दीपुरलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरको आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित गरिनेछ । रासस

प्रकाशित मिति: आइतबार, असार २८, २०८३  २१:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update