सुनसरी। उद्योग वाणिज्य सङ्घ इटहरीको अध्यक्षमा गायत्री कटुवाल भण्डारी निर्वाचित भएकी छन्।
आइतबार राति सम्पन्न भएको मतगणनाअनुसार भण्डारीले आफ्ना निकटतम् प्रतिस्पर्धी नवराज काफ्लेलाई १५ मतले पराजित गर्दै निर्वाचित भएको निर्वाचन समितिका संयोजक टङ्क दुलालले जानकारी दिए।
अन्तिम मतपरिणामअनुसार भण्डारीले ७५८ मत प्राप्त गरेकी थिइन् भने काफ्लेले ७४३ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वाणिज्य सदस्यतर्फ जीवनकुमार न्यौपाने, सञ्जीव खड्का, बलराम बस्नेत, सिनेट रिजाल, सञ्जय साह, बलबहादुर न्यौपाने, सन्नी चौधरी, दिनेशप्रसाद धमला र महेश थापा निर्वाचित भएका छन् ।
महिला सदस्यतर्फ मीना आचार्य ढकाल र सुमित्रा घिमिरे भट्टराई निर्वाचित भएका छन्। उद्योग सदस्यतर्फ अभिषेक बस्नेत, शिवप्रसाद भट्टराई ‘भूपाल’, हरिप्रसाद तिम्सिना र किसनकुमार खेडिया निर्वाचित भएका छन्।
दुई हजार ३६९ मतदाता रहेकामा एक हजार ५४३ मत खसेको निर्वाचन समितिले जनाएको छ ।






