Odapalika - The Fourth Estate - चौथो अंग
काठेखोलाका कृषकलाई २१ हजारको यान्त्रिक हलो, अब होला त किसानको भलो 

काठमाडौँ । बागलुङको काठेखोला गाउँपालिकाले दलित किसानलाई प्रविधिसँग जोड्नका लागि ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो वितरण गरेको छ । यान्त्रिकीकरणमार्फत किसानलाई व्यावसायिक र कृषि पेसातर्फ उन्मुख गराउन यान्त्रिक हलो (मिनीटेलर) प्रदान गरिएको हो ।  

पछिल्लो समय गाउँमा खनजोतका लागि गोरुको अभाव र जनशक्तिसमेत नरहेकाले किसानको माग र आवश्यकतालाई मध्यनजर गरी यान्त्रिक हलो भएकाले वितरण गरेको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बताए ।

डिजेल वा पेट्रोलबाट चल्ने तथा कम जनशक्ति भए पनि पुग्ने भएकाले यसतर्फ किसानको आकर्षण बढ्दै गएको अध्यक्ष थापाको भनाइ छ । एक हल गोरुले एक दिनभरिमा जोत्न बारीमा यान्त्रिक हलोले दुई घण्टामा जोत्न सकिने हुँदा उत्पादन वृद्धि गर्न मद्दत पुग्ने उनको भनाइ छ । 

हलो पाएसँगै किसानलाई खेत जोत्न सहज हुने र समयको बचत हुने थापा बताउनुहुन्छ । गाउँपालिकाले प्रति हलो ४३ हजारमा खरिद गरी किसानलाई २१ हजार ५०० मा वितरण गरेको छ ।

काठेखोलामा बसाइँसराइले गर्दा धेरै जग्गा जमिन बाँझो बन्दै गएका छन् । गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्नका लागि अन्य अनुदान पनि दिँदै आएको छ । काठेखोला गाउँपालिका–८ लेखानीका किसान धनबहादुर विश्वकर्माले अहिलेसम्म गोरुलेनै जोतेर खेतीपाती गर्दै आएको भन्दै अब यान्त्रिकरणमार्फत खेती गर्ने बताए ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update