Odapalika - The Fourth Estate - चौथो अंग
सरकार–शिक्षक ९ बुँदे सहमति र प्रतिवद्धताका ७ अनुत्तरित प्रश्न, कसले दिन्छ जवाफ ? 

विद्यालय शिक्षा ऐन जारी हुनुपर्नेसहितका २२ बुँदे माग राखे र आन्दोलनमा उत्रिएका शिक्षक र सरकारबीच ९ बुँदे सहमति र एउटा सामुहिक प्रतिवद्धतासँगै आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् । 

शिक्षकहरु आज सार्वजनिक विदा भएका कारण भोलिबाटै कक्षाकोठामा भेटिने छन् । ९ बुँदे सहमति सँगै एमाले र कांग्रेसका प्रमुख सचेतकले १५ असारभित्र विद्यालय शिक्षा ऐन जारी गर्न अधिकतम प्रयत्न गरिनेछ भनेर सहीछाप गरेर दिए । 

यो सहीछापलाई नेपाल शिक्षक महासंघले संयुक्त पत्रकार सम्मेलनमै १५ असारभित्रमा संसदबाट ऐन जारी हुने पक्का भएको भन्दै प्रचार गर्यो । जुन प्रचारमा आज पनि शिक्षकहरु ढुक्कजस्तै देखिए । 

शिक्षकज्यूहरु एमालेका मुख्य सचेतक महेश बर्तौला, कांग्रेसका प्रमुख सचेतक श्यकम कुमार घिमिरे र संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले ल्याप्चे लगाएर दिएको २ प्याराग्राफ र १५ हरफको कागज फेरि पढ्नुस् त ! 

कागजको १२ र १३औँ हरफमा के लेखिएको छ ? पढ्नुभएको छैन भने म यहाँ एकपटक दोहोर्याइदिन्छु । त्यहाँ अरु थुप्रै कुरा लेखिएको छ, जुन जगजाहेर छ, तर जाली कुरा चैँ यस्तो पो छ त !

... महासंघसँग भएका सहमति समझदारीलाई ध्यानमा राख्दै यो विधेयकलाई चालू अधिवेशनको आषाढ १५ गतेभित्र प्रतिनिधिसभाबाट पारित गराउन आ आफ्नो तहबाट सम्पूर्ण प्रयास गर्न हामी प्रतिवद्ध रहेका छौँ । 

३ भाइले सहीछाप हानेको यो कागजमा सक्दो प्रयास गर्ने लेखिएको छ त । अनि कसरी शिक्षकहरुलाई भन्दै हुनुहुन्छ असार १५ गते ऐन पारित हुन्छ भनेर ? 

अनि प्रतिनिधिसभाले पारित गरेपछि ऐन कार्यान्वयनमा आउने हो ? राष्ट्रिय सभा नामको ५९ जना माननीयहरुले चै यस्तो अधिकतम प्रयास गरिदिनै परेन शिक्षकज्यूहरुलाई ? कि राष्ट्रिय सभा छ भन्ने बिर्सनुभयो लक्ष्मीकिशोर सुवेदीलगायतका सरमिसहरु ? 

अब धेरै ल्याङल्याङ नगरौ, छोटकरी ९ बुँदामा मैले देखेका संशय उल्लेख गरेर आजलाई बिट मार्छु ।

पहिलो बुँदाः शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने ।

अस्पतालमा उपचार गराउँदा कति प्रतिशत सहुलियत हो? कहिलेदेखि यो लागु हुने हो? ५ प्रतिशत सहुलियत भो मास्टरलाई भन्दिए पुग्छ त हैन अब यो सहमति अनुसार त ? कि के हो सरमिसहरु ? 

दोस्रो बुँदा : अस्थायी प्रकृतिका शिक्षक (राहत,अस्थायी, साबिक उमावि, सिकाई अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बाल विकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र सो बापतको रकम अवकाश भएका बखतमा एकमुष्ट प्राप्त गर्ने ।

यो कहिलेबाट प्राप्त हुने हो? सहमति भएको दिनबाट सञ्चित हुने हो कि नियुक्ति लिएदेखि के पाइने हो ? कि जहिलेदेखिको दिए पनि हात थाप्छौँ भन्या हो ? 

तेस्रो बुँदाः  प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकार बाट तोके बमोजिम व्यवस्था गर्ने ।

नेपाल सरकारले कहिले तोकिदिने हो? बजेट भएन, अब अर्को आर्थिक वर्षबाट तोकाँैला भन्न पाइने कि नपाइने हो यो सहमतिलाई टेकेर ? मन्त्रिपरिषद बैठकले तोकिदिइसकेको भए त सहमतिमा यति पुग्यो भनेर उल्लेख हुन्थ्यो होला केरे !

चौथो बुँदाः आगामी आर्थिक वर्ष २०८२÷८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय प्राथमिक द्वितीय निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकहरूको लागि निजामती सरह ग्रेड संख्या र रकम कायम गर्ने । 

पाँचौ बुँदाः स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत अस्थायी करार साविक उमावि प्राविधिक धार र विशेष शिक्षा)का सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था

गर्ने ।

छैटौँ बुँदाः सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने ।

सातौँ बुँदाः नेपाल सरकारको मर्यादाक्रम सूचीमा शिक्षकहरूलाई समावेश गर्ने । 

प्राथमिक देखिकै शिक्षक हुन् कि, कुन कुन प्रकृतिका शिक्षकहरुको मर्यादाक्रम तोक्ने भनिएको हो स्पष्ट छैन त । भोलिका दिनमा माध्यमिक प्रथम तहको मात्र मर्यादाक्रम तोक्दा यो सहमति विपरित हुन्छ कि हुँदैन सरमिसहरु ? 

आठौँ बुँदाः नेपाल शिक्षक महासंघको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक सुरक्षाकर्मी कर्मचारी तथा पत्रकारहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने ।

नवौँ बुँदाः निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुनेगरी कायम गर्ने ।

यो कहिलेदेखि कायम हुने हो ? प्राथमिक तृतीय प्राथमिक द्वितीय निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकहरूको आगामी आर्थिक वर्षबाटै निजामती सरह ग्रेड संख्या र रकम कायम गर्ने सहमतिमै उल्लेख छ । तर निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकहरुको तलव र ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह कहिलेबाट हुने हो केही हुलाइएको छैन । 

कहिलेबाट हुने हो भन्ने नुखुलेको सहमतिअनुसार अबको ५ या १० वर्षसम्म पनि यो कार्यान्वयन भएन भने फेरि कक्षा छाडेर बानेश्वर–बबरमहल मार्चपास गरिरहनू ? कि के हो है सरमिसहरु ? 

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १२:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update