काठमाडौं - बञ्चरे डाँडा ल्याण्डफिल्ड साइटमा रात्रिकालीन फोहोर व्यवस्थापनका लागि बत्ती जडान गर्न सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रले सोमबार ल्याण्डफिल्ड साइटमा बत्ती जडानका लागि पोल झारेको छ । अब पोल गाडेर बत्ती जडान गरिनेछ ।
ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार ल्याण्डफिल्ड साइटको अनुगमन र स्थानीयसँगको अन्तरक्रियाको क्रममा रात्रिकालीन फोहोर व्यवस्थापनका लागि तुरुन्तै बत्ती जडान सुरु गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसपछि प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाल र नुवाकोट वितरण केन्द्र प्रमुखलाई बत्ती जडानका लागि आवश्यक व्यवस्था गर्न निर्देशन दिएका थिए ।
यसै गरी, फोहोरबाट निस्कने लिच्चड व्यवस्थापनका लागि जडान गर्न पम्प साइटमा आपूर्ति गरिसकिएको छ । स्थानीयसँग जनाइएको प्रतिबद्धता बमोजिम नियमित अनुगमन गर्न सहरी विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियरको संयोजकत्वमा काठमाडौं महानगरपालिका, धुनिवेशी नगरपालिका, ककनी गाउँपालिका र प्रत्यक्ष प्रभावित स्थानीयको प्रतिनिधित्व रहने गरी समिति गठन गरिएको छ ।






