काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणाम आइरहेको छ । पत्येक्ष निर्वाचन तर्फको १६५ सिटमध्ये १४४ सिटको परिणाम सार्वजनिक भइसकेको छ ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ११२ सिटमा जित प्राप्त गरेको छ भने अझै १३ सिटमा अग्रता लिएको छ ।
यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ स्थानमा विजय प्राप्त गरेको छ भने अब १ सिटमा अग्रता छ । तेस्रो स्थानमा रहेको नेकपा एमालेले ७ सिटमा विजय प्राप्त गरेको छ भने ३ सिटमा अग्रता बनाएको छ ।
चौथो स्थानमा रहेको नेकपाले ५ स्थानमा विजय प्राप्त गरेको छ भने अझै २ स्थानमा अग्रता कायम राखेको छ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले २ स्थानमा जित निकालेको छ भने अझै १ स्थानमा अग्रता कायम राखेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एक स्थानमा जित निकालेको छ भने म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महाबीर पुन विजयी भएका छन् ।
आइतबार १ः४५ बजेसम्मको विवरण अनुसार समानुपातिकतर्फ ३५ लाख ३८ हजार ९७१ मत गणना भएको छ । समानुपातिक तर्फ पनि ५० प्रतिशतभन्दा बढी मत रास्वपाको नै छ । रास्वपा १७ लाख ६३ हजार ६ मत प्राप्त गरेको छ ।
समानुपातिकतर्फ पनि नेपाली कांग्रेस दोस्रो स्थानमा नै छ । कांग्रेसले समानुपातिकमा ६ लाख ३८९ मत पाएको छ । यस्तै, तेस्रो स्थानमा रहेको नेकपा एमालेले ५ लाख २ हजार ५५२ मत पाएको छ । चौथो स्थानमा रहेको नेकपाले २ लाख ३७ हजार ८१८ मत पाएको छ । समानुपातिक तर्फ पाँचौं स्थानमा राप्रपाको मत छ । राप्रपाले १ लाख २८ हजार ३४४ मत पाएको छ ।
समानुपातिकतर्फ छैटौं स्थानमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी छ । सो पार्टीले ७४ हजार ११५ मत पाएको छ । संबैधानिक व्यवस्था अनुसार प्रत्येक्षमा कम्तिमा एक सिट र समानुपातिकमा कुल सदर मतको ३ प्रतिशत मत ल्याउने दलको मत मात्रै समानुपातिकमा सो पार्टीलाई जान्छ र सांसद बनाउन पाइन्छ । श्रम संस्कृति पार्टीले प्रत्येक्षमा २ सिट जितिसकेकोले सो पार्टीले समानुपातिकमा ३ प्रतिशत मत कटाएमा मात्रै सो दल राष्ट्रिय दल बन्न पाउँछ र उसले पाएको मतले सोही पार्टीलाई सांसद बन्न पाउँछ । यो निर्वाचनमा हर्क साम्पाङ एक जना चर्चित पात्र हुन् ।
यो निर्वाचनका अर्का चर्चित पात्र कुलमान घिसिङ हुन् । समानुपातिकमा उम्मेदवारको बन्दसुची बनाउने समयमा रास्वपा प्रवेश गरेका घिसिङ पछि सो पार्टी परित्याग गरी निस्किएका थिए । सोही कारण घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले समानुपातिकमा आफ्नै चुनाव चिन्हमा मत माग्न पाएन । सो पार्टीले पछि राष्ट्रिय परिवर्तन पार्टीसँग समन्वय गरी उसको निर्वाचन चिन्ह बाँसुरी लिएर समानुपातिक निर्वाचनमा सहभागी भएको थियो ।
उज्यालो नेपालबाट उम्मेदवार बनेका कुलमान आफैले चुनाव जितेनन् । उनी काठमाडौँ ३ मा रास्वपा उम्मेदवार राजुनाथ पाण्डेसँग पराजित भए । र, कुलमानको पार्टीले समानुपातिकमा रोजेको बाँसुरी चुनाव चिन्हको राष्ट्रिय परिवर्तन पार्टीले प्रत्येक्षतर्फ एक सिट पनि जितेको छैन । यद्यपि, समानुपातिकमा सो पार्टीले ४१ हजार २३९ मत प्राप्त गरिसकेको छ । प्रत्येक्षतर्फ एक सिट पनि नजितेकोले सो पार्टीले जति मत प्राप्त गरेपनि समानुपातिकमा भने सो पार्टीले पाउने छैन ।







